Radio Unity 92.2MHz

सुदूर पहाडमा कक्षा १२ को परीक्षाको तयारी पूरा

डडेल्धुरा: सुदूरपश्चिमका सात पहाडी जिल्लामा भोलिदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ। मंगलबारदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, डडेल्धुराले जनाएको छ।

कार्यालय प्रमुख नारायणदत्त भट्टले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिए। ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं,’ उनले भने, ‘उत्तरपुस्तिकाहरू सबै परीक्षा केन्द्रमा पुगिसकेको छ,’

कक्षा १२ को परीक्षामा सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट १८ हजार ३ सय ८६ परीक्षार्थी सहभागी हुने कार्यालय प्रमुख भट्टले बताए। जसमा नियमिततर्फ १५ हजार ३९८ र आंशिकतर्फ २ हजार ९८८ जना विद्यार्थी रहेका छन्।

जसका लागि कूल ८२ वटा परीक्षा केन्द्र तोकिएको छ। कार्यालय प्रमुख भट्टका अनुसार बैतडीमा १७, अछाममा १४, दार्चुलामा १३, डडेल्धरा र बझाङमा ११/११ तथा बाजुरा र डोटीमा ८/८ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षामा बैतडीबाट ३ हजार ९९५, अछामबाट २ हजार ९३८, बझाङबाट २ हजार ८८६, दार्चुलाका २ हजार ४०६, डडेल्धुराका २ हजार १५०, बाजुराका २ हजार ७ र डोटीका २ हजार ४ जना परीक्षार्थी सहभागी हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए।

उनका अनुसार बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउनेछ। परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाएको प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।

सम्बन्धित पाेष्टहरु
Loading...