डडेल्धुरा: युवा जनशक्तिलाई सीपमुलक तालिम दिएर दक्ष बनाउन र उनीहरुसँग रहेको सीपका आधारमा व्यवसायिक योग्यता परीक्षण गरेर प्रमाणपत्र दिलाउन डडेल्धुराका सातवटै स्थानीय तहले पहल गर्ने भएका छन्।
कतिपय व्यक्तिसँग सीप भएपनि प्रमाण पत्रको अभावमा रोजगारी पाउन नसकेको र न्युन ज्यालामा काम गर्नुपरिरहेको अवस्थालाई मध्यनजर गरेर सीप भएकालाई प्रमाणपत्र दिलाउन पहल गरिन थालिएको हो।
राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधीहरुसँग अभिमुखीकरण कार्यक्रममा सहभागी यहाँका सातवटै स्थानीय तहका जनप्रतिनिधीहरूले दक्षता अभिवृद्धिका साथै दक्षताका आधारमा प्रमाण पत्र उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
स्विटजरल्याण्ड सरकारको प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यान्वयनमा रहेको नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना कार्यान्वयनसम्बन्धि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम डडेल्धुरा सदरमुकाममा सोमबार सम्पन्न भएको छ।
कार्यक्रममा परियोजनाका प्राविधिक संयोजक डिल्लीराज भट्टले परियोजनाको अवस्था, प्राथमिकता र आवश्यकताबारे सहभागीहरुलाई जानकारी गराएका थिए। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र भट्टले परियोजनाको अवस्था र कार्यान्वयनमा प्रदेश सरकारको भूमिकाबारेमा प्रस्तुतिकरण गरेका थिए।
परियोजनाका प्राविधिक अधिकृत टंकप्रसाद उपाध्यायले परियोजना कार्यान्वयनमा स्थानीय तहको भूमिका तथा पूर्व सिकाई मान्यता प्रणाली र स्थानीय तहसँगको सहकार्यबारेमा जानकारी गराएका थिए। कार्यक्रममा नेपालको शैक्षिक प्रणाली, प्राविधिक सीप तथा रोजगारीमा तालमेलको अवस्था, राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको महत्व तथा सान्दर्भिकता र कार्यान्वयनमा तिनवटै तहका सरकार तथा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको थियो।
कार्यक्रममा जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयका प्रतिनिधि, प्राविधिक धारका विद्यालयका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरुले अदक्ष कामदार विदेश पठाएर उनीहरुले प्राप्त गरिरहेको रेमिट्यान्सको भरमा मुलुकको आर्थिक विकास सम्भव नभएकाले दक्ष जनशक्ति बनाएर उनीहरुलाई सीपका आधारमा प्रमाणपत्र प्रदान गरेर व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनन गरिनुपर्ने सुझाव दिएका छन्।