डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–७ खिन्नेभाडीमा रहेको महादेव माविले कक्षा ११ संचालनमा लागि चन्दा संकलन गर्न सुरु गरेको छ।
शैक्षिकसत्र २०८० बाट कक्षा ११ संचालन गर्नका लागि विद्यालयले अभिभावक तथा अन्य व्यक्तिहरूबाट सहयोग संकलन गर्न थालेको हो। विद्यालयको आर्थिक अवस्था न्यून भएपछि कक्षा ११ सञ्चालनका लागि बाध्य भएर चन्दा संकलन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर धामीले बताए।
महादेव माविबाट एसईई पास भएका विद्यार्थीले यहाँ कक्षा ११ को पढाइ नहुँदा टाढा–टाढा गएर पढ्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक दिलबहादुर पार्कीले बताए।
‘यहाँ कक्षा ११ को पढाइ संचालन गर्नु निकै आवश्यक छ। यो दुर्गम ठाउँ पनि हो,’ उनले भने, ‘हाम्रो विद्यालयबाट अहिले ३६ जनाले एसईई परीक्षा दिएका छन्। यहाँबाट एसईई पास भएपछि दुर्गा मावि डोलाका साथै घरेलु, जोगबुडा र बुडरसम्म विद्यार्थीहरू पढ्न जान्छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले विद्यालय टाढा भएकै कारण बीचमै पढाइ छाड्नुपर्ने बाध्यता पनि छ।’
उनले कक्षा ११ संचालनका लागि सबैलाई आर्थिक सहयोग गरिदिन पनि आग्रह गरे। प्रअ पार्कीका अनुसार हाल विद्यालयमा ४५० जना विद्यार्थी अध्यययरत रहेका छन्।
चन्दा संकलन अभियानअन्तर्गत शुक्रबार परशुराम नगरपालिका–११ राम बहादुर खड्काले ५ हजार ८० र र आलिताल–७ भालुखोलाका प्रेमबहदुर बोहराले ५ हजार १५० रुयैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीले जानकारी दिए।