Radio Unity 92.2MHz

आइतबारसम्म देशभर वर्षाको सम्भावना

काठमाडौं: देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम तीव्र रूपमा बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार (हिजो) सबै प्रदेशमा पानी परेको छ भने कतिपय स्थानमा भारी वर्षा पनि भएको छ।

‘अहिले (बिहान) पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ’, उनले भनिन्। उनका अनुसार यतिबेला काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा पानी परिरहेको छ।

‘पानी पर्दै रोकिँदै, फेरि पर्दै गरिरहेको छ’, मौसमविद् कँडेलले भनिन्, ‘दिउँसो एकछिन रोकिन्छ तर फेरि साँझपख वर्षा हुन्छ।’

उनका अनुसार लगातार झरीचाहिँ हुँदैन तर एकैछिन हुने खालको वर्षा पनि होइन। ‘तराईतिर त ४/५ घण्टासम्म लगातार वर्षा हुनसक्ने सम्भावना छ’, उनले भनिन्।

मनसुन देशभर फैलिने क्रममा रहेकाले बदली र वर्षा बढ्दै गएको मौसमविद् कँडेलले जानकारी दिइन्।

यही जुन १४ तारिख नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन (वर्षायाम सुरु गराउने मौसमी प्रणाली) त्यसबेलादेखि कोशी, मधेशको पूर्वी भाग, बागमती र गण्डकी प्रदेशसम्म मात्र फैलिएको छ।

तर अहिले बढ्दै गएको बदली र वर्षाले मनसुन गण्डकीदेखि पश्चिमतिर पनि प्रवेश गरेको अनुमान मौसमविद्ले गरेका छन्। ‘तर यसको औपचारिक घोषणाका लागि आज मौसम विभागको बैठक बसेर निर्णय गर्छ’, मौसमविद् कँडेलले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (शुक्रबार) देखि पर्सि (आइतबार) सम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना छ। यसबीच देशका विभिन्न स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार आइतबारसम्म देशभर यस्तो छ वर्षाको सम्भावना–

असार ८ गते शुक्रबार (आज)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली (बादल लाग्नु) रहनेछ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार ९ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार १० गते आइतबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षा र मेघगर्जन/चट्याङका कारणले हुनसक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।