Radio Unity 92.2MHz

आलिताल गाउँपालिकाले ल्यायो ४३ करोड ३ लाखको बजेट

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आइतबार गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १५औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्। जसमध्ये चालुतर्फ ३१ करोड १३ लाख ६२ हजार र पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।

विनियोजित बजेटले गाउँपालिका कार्यालयको प्रशासनिक र पुँजीगत खर्च, वडा तथा गाउँपालिकास्तरीय योजना र कार्यक्रम खर्च, विषयक्षेत्रगत योजना तथा कार्यक्रम, समपूरक र विशेष योजनाहरू र संघीय तथा प्रदेशस्तरीय शसर्त कार्यक्रमहरू कार्यान्वयन गरिने उपाध्यक्ष रावलले बताइन्।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय राजस्व बाँडफाँडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय, प्रदेश राजस्व बाँडफाँडबाट २२ लाख ५६ हजार, गाउँपालिकाको आन्तरिक आय १ करोड, संघीय समानीकरण अनुदान ८ करोड २९ लाख, प्रदेश समानीकरण अनुदान ६६ लाख ६८ हजार, शसर्त अनुदान चालु १७ करोड ३८ लाख ५० हजार, शसर्त अनुदान पुँजीगत १ करोड ४७ लाख, प्रदेश विशेष अनुदान चालु ३० लाख, संघीय विशेष अनुदान पुँजीगत २ करोड ५० लाख, प्रदेश विशेष अनुदान पुँजीगत ५७ लाख, संघीय समपूरक अनुदान पुँजीगत ७० लाख र प्रदेश समपूरक पुँजीगत अनुदानबाट ६० लाख गरी कूल ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ जुटाइने उनले बताइन्।

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए। उनका अनुसार केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट विनियोजन गरिएको छ।

गाउँपालिका प्रवक्त तथा वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर बोहराले आइतबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आलितालले पनि बजेट तीन करोड घटाएर ल्याएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको थियो।

यो पनि पढ्नुहोस् : 

अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख

सम्बन्धित पाेष्टहरु
Loading...