Radio Unity 92.2MHz

डडेल्धुरामा जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक, घट्यो जनसंख्या

डडेल्धुरा: डडेल्धुरामा राष्ट्रिय जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गरिएको छ। तथ्याङ्क कार्यालय डडेल्धुराले सोमबार एक कार्यक्रमकाबीच जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको छ।

कार्यक्रममा कार्यालयका तथ्याङ्क अधिकृत चन्द्रबहादुर पालले गणनाको विधि, गणनाको प्रक्रिया, जनसंख्या र वृद्धिदरको अवस्थालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

२०७८ सालमा सम्पन्न भएको जनगणनाको नतिजा राष्ट्रिय रूपमा भने ०७९ चैत १० गते सार्वजनिक गरिएको थियो । डडेल्धुरामा भने सोमबार मात्रै सार्वजनिक गरिएको हो।

सार्वजनिक तथ्याङ्कअनुसार डडेल्धुराको जनसंख्या घटेको छ। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको जनसंख्या २ हजार ४ सय ९२ जनाले घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४२ हजार ९४ जना रहेको थियो।

पछिल्लो १० वर्षको अवधिमा घटेर अहिले १ लाख ३९ हजार ६ सय २ पुगेको छ। जसमा महिला ७३ हजार ७ सय ९ र पुरुष ६५ हजार ८ सय ९३ जना रहेका छन्। जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जनसंख्या वृद्धिदर माइनस ०.१७ प्रतिशत रहेको छ।

उनले जनसंख्या घट्नुका धेरै कारण रहेको बताए। बसाइँसराइ तथा जन्मदर घट्नु पनि जनसंख्या घट्नुको कारण भएको तथ्याङ्क अधिकृत पालको भनाइ छ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार डडेल्धुरामा अनुपस्थित जनसंख्या अर्थात् देश बाहिर रहेको संख्या १५ हजार ५१८ रहेको छ । जसमा ८१ दशमलव ७७ प्रतिशत पुरुष र १८ दशमलव २३ प्रतिशत महिला रहेका छन्। जिल्लामा ५८ दशमलव ६९ प्रतिशत जनसंख्या मात्रै सक्रिय छ । डडेल्धुराको साक्षरता दर ६८ दशमलव १९ प्रतिशत छ।

जिल्लामा अपाङ्ता भएका व्यक्तिको संख्या ४ हजार १६४ जना रहेको छ। जसमा २ हजार २०६ पुरुष र १ हजार ९५८ जना महिला रहेका छन्। प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको अध्यक्षातामा भएको नतिजा सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का रहेकी थिइन्।

प्रदेशसभा सदस्य खड्काले विकास निर्माणका काम गर्दा यस्ता किसिमका सार्वजनिक तथ्याङ्क आवश्यक पर्ने बताइन्। उनले तथ्याङ्ककै आधारमा पनि विकासका योजनाहरूलाई अगाडि बढाउन सकिने धारणा राखिन्। प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनगणनाका सुचकहरूलाई हेरेर आफूहरूले जिल्लामा कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।