डडेल्धुराः डडेल्धुराको भित्री मधेसमा रहेको परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ८० करोड ९५ लाख १२ हजारको बजेट ल्याएको छ। सोमबार १३औँ नगरसभामा नगर उपप्रमुख विमला कुमारी बोहरा महताले राजश्व र व्ययको अनुमानित विवरण प्रस्तुत गरेकी हुन्।
जसमध्ये आर्थिक विकासतर्फ २ करोड ३० लाख, सामाजिक विकासतर्फ ३८ करोड ५३ लाख ६१ हजार, सामाजिक सुरक्षातर्फ १४ करोड ९३ लाख, पूर्वाधार विकासतर्फ १२ करोड १७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ९ करोड ९३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३० लाख तथा वडागत कार्यक्रम शिर्षकमा २ करोड ७७ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाको आम्दानीतर्फ आन्तरिक आयबाट २ करोड उठाउने लक्ष्य राखिएको छ।
नगरपालिकाले चालू आर्थिक वर्षमा ३६.९३ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालू वर्षका लागि नगरपालिकाले पूँजीगततर्फ २० करोड ५३ लाख ३२ हजार विनियोजन गरेकोमा जेठ मसान्तसम्म ७ करोड ५८ लाख ४९ हजार खर्च गरेको छ।
चालुतर्फ भने ६२.०५ प्रतिशत बजेट खर्च भएको छ। चालु आर्थिक वर्षमा चालुतर्फ ५४ करोड ९१ लाख ८४ हजार विनियोजन भएकोमा जेठ मसान्तसम्म ३४ करोड ७ लाख ८६ हजार खर्च गरेको छ।