Radio Unity 92.2MHz

डडेल्धुरामा यसरी मनाइयो राष्ट्रिय धान दिवस [फोटो फिचर]

  • प्रकाश पार्की

डडेल्धुरा: डडेल्धुरामा पनि २०औँ राष्ट्रिय धान दिवस मनाएको छ। शुक्रबार जिल्लाको भागेश्वर गाउँपालिका–४ धिक्तडीमा किसानको खेतमा गएर कृषि ज्ञान केन्द्रले धान रोप्दै धान दिवस मनाइएको हो।

यसवर्ष ‘जलवायु अनुकूलित कृषक प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । असार १५ सम्म जिल्लामा ४० प्रतिशत रोपाइँ मात्रै सम्पन्न भएको उनको भनाइ छ। जलवायु परिवर्तनका कारण यसपालि समयमै पानी नपर्दा ढिलो रोपाइँ सकिने उनले बताए।

भागेश्वरकै धान उत्पादन हुने धिक्तडीमा गएर धान दिवस मनाइएको भागेश्वर–४ का वडाध्यक्ष बसन्तराज चटौतले बताए। उनका अनुसार किसानसँगै दही च्यूरा खाँदै धान दिवस मनाइएको हो। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्यूरा खाने चलन छ।

भागेश्वर–४ का किसान चक्र ठकुराठीले किसानहरूलाई रोपाइँ गर्ने बेला मलको अभाव हुने गरेको गुनासो गरे। यसका साथै उनले जंगली जनावरले समेत यहाँका किसानहरूलाई हैरान बनाउने बताए।

धान दिवस मनाउन धिक्तडी पुगेकी प्रदेशसभा सदस्य सरस्वती खड्काले कृषि क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताइन्। कृषिमा डडेल्धुरा अगाडि रहेको उल्लेख गर्दै उनले कृषि अनुदानको अनुगमन गर्न जरुरी रहेको औंल्याइन्। ‘तीनै तहबाट किसानहरूले अनुदान पाइरहेका छन्, यसको प्रभावकारी रूपमा अनुगमन हुनुपर्दछ,’ उनले भने, ‘धेरैले अनुदान लिएर काम गर्ने पनि छन्। गरिखाने किसानले मात्रै अनुदान पाउनुपर्छ।’

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले किसानहरूको सम्मानका लागि उनीहरूकै खेलमा आएर दिवस मनाएको बताए। जलवायु परिवर्तनका कारण उत्पादन घट्दै गएको र त्यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो। जलवायु परिवर्तनका कारण भविष्यमा खाद्य संकट आउन सक्ने र अहिलेबाटै उत्पादन बढाउनतिर ध्यान दिनुपर्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले यहाँको माटो उर्वर रहेकाले व्यावसायिक रूपमा खेती गर्न आवश्यक रहेको बताए। किसानहरूले उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ। ‘यहाँको माटो उर्वर छ। व्यावसायिक रूपमा खेती गर्नु आवश्यक छ,’ उनले भने, ‘व्यवस्थापकीय राम्रो नहुँदा उत्पादन कम भइरहेको छ। हामीले उत्पादनमा जोड दिनुपर्छ।’

धान दिवसमा प्रदेशसभा सदस्य, जिसस प्रमुख, प्रजिअ, स्थानीय जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा कर्मचारी, पत्रकार र स्थानीय कृषकको सहभागिता रहेको थियो।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।

   

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।