म जितेको भए पाँच वर्षमा उठाउन नसक्ने बजेट ल्याइदिन्थे : पूर्वमन्त्री बोहरा
भन्छन् : डोट्यालले मलाई भोट हालेन्
डडेल्धुराः नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रदेश सभाको निर्वाचनमा आफूलाई जिताएको भए पाँच वर्षमा डडेल्धुरामा उठाउन नसक्ने पैसा ल्याइदिने जिकीर गरेका छन्।
शनिबार किसान शहीद भीमदत्त पन्तको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन कार्यक्रममा बोल्दै बोहराले उक्त प्रतिक्रिया दिएका हुन्।
उनले आफूलाई अमरगढी नगरपालिकाका दुई र तीन नम्बर वडाबाट भोट नहालेको आरोप समेत लगाए।
‘बजेट सबैभन्दा धेरै यतै हाले। तर, केही छैन् हारेपनि जितेपनि। म काम गर्ने मान्छे हुँ,’ उनले भने, ‘मलाई केही घाटा भएको छैन्। यत्ति मात्रै होकी म मन्त्री हुन्थे, मूख्यमन्त्री हुन्थे। पाँच वर्षमा डडेल्धुरामा उठाउन नसक्ने पैसा ल्याइदिन्थे।’
बोहराले आफू धनगढी, डडेल्धुरा, काठमाडौं गरेर जीवन विताए पनि जिल्लालाई ठूलो घाटा लागेको जिकीर गरे। सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये सबैभन्दा कम बजेट आएको जिल्ला डडेल्धुरा भएको उनको भनाइ छ।
पार्टी आफ्नो ठाउँमा रहेको बताउँदै उनले भने, ‘गन्यापधुरा, नवदुर्गा, अजयमेरुको मान्छेले मलाई भोट हाल्यो। यो नगरपालिकाले हालेन्। त्यसमा यी दुई वटा वडा डोट्याल भन्हान् इन डोट्यालले झन् भोट हालेन्।’
त्यसैमा थप्दै उनले भने, ‘क्याकी हालेन् मेरो केही गल्ती भए माफ गर्नूहोला। बजेट ज्यादा हाल्या हुनाले हो कि? मलाई भन्न त भन्या हो, तपाईं यति बजेट हाल्दै हुनुहुन्छ, चुनाव हार्नुहुन्छ।’
उनले आफूलाई सहयोग गर्नेप्रति आभार व्यक्त गरे। आगामी दिनमा आफू मात्र नभएर विकास गर्ने आफ्नो मान्छेलाई अरूको लहलहैमा लागेर पछाडि बाट हान्ने काम नगर्न अनुरोध गरे।
‘काम गर्ने मान्छेले नमस्ते गरेन्, मुख बोलेन्, उसले काम गरेन्, यो गरेन् भनेर मान्छेलाई यो समाजले चुनाव हराउने काम नगरोस्’, उनले भने।
पौने तीन अरब रूपैया ल्याए
पूर्वमन्त्री बोहराले आफू मन्त्री भएर चार/पाँच महिनाको दौरान जिल्लामा पौने तीन अरब रूपैया ल्याएको दाबी गरे।
‘५० करोडको लगानीमा सिटी हल बनाउँदै छौं। विश्वविद्यालय खोलिसक्यौं। डाक्टर, नर्सिङ यहीँ पढाउन मेडिकल कलेजको सुरुवात भइसक्यो। म मन्त्री हुँदा बहुप्राविधिक विद्यालय यहाँ खोलेको छु,’ उनले भने, ‘जो एक सय करोडको हो। मेरो व्यक्तिगत पैसा होइन्। तर, जनताले तिरो तिरेको पैसा हो। बजेट ल्याउन त्यति सजिलो छैन्।’
उनले बजेट ल्याउनका लागि जनता सामू गरेको बाचा पूरा गर्नका लागि नेता, बुद्धि र बल चाहिने बताए। उनले भने, ‘अस्ति म जोगबुढा गए। त्यहाँ माओवादी, एमाले सबै आए। उनीहरूले भने हामीले तपाईंलाई चिनेका छैनौं। तर, हाम्रोमा बजेट हाल्दिनु। तपाईंलाई एक चोटी भोट हाल्ने मौका पाउँ भनेर भने।’
उनले दुई वर्ष भीत्र डडेल्धुरा बजार नमूना बजार बन्ने दाबी समेत गरेका छन्।