डडेल्धुरा: डडेल्धुरामा २० लाखमा निर्माण भएको एउटा टहरो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हिजो (मंगलबार) साँझ पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुक अकाउन्टमा उक्त टहराको फोटो सार्वजनिक गरेका थिए।
करिब ३ लाखभन्दा बढी फलोर्स भएका उपाध्यायको यो पोष्टमा यो समाचार तयार पार्दासम्म १७ सय बढीले लाइक गरेका छन्।
‘डडेलधुराको अमरगढी नगरपालिका बागवजार स्याउले सडकको छेउमा रू २० लाख लागतमा डिभिजन वन कार्यालय डडेल्धुराले बनाएको टहरो’ भन्दै उनले तस्वीरमा लेखेका थिए।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–२ मा बनेको उक्त टहरा बारे बुझ्न युनिटी खबरको टीमले स्थलगत रिपोर्टीङ गर्यो।
स्थलगत रिपोर्टीङमा कस्तो देखियो त टहरो हेर्नुहोस्, तस्वीरमा
उपाध्यायले भने जस्तै २० लाखकै लागतमा बनेको हो त? यस विषयमा बुझ्न हामीले टहरो निर्माणको जिम्मेवारी पाएका वन अधिकृत रणेन्द्र सिंहलाई सोध्यौं।
सिंहका अनुसार उक्त योजना संघीय सरकारको शसर्त अनुदान अन्तर्गत रहेको हो। अमरगढी हरित पार्कमा उक्त संरचना बन्नुपर्नेमा त्यहाँ ठाउँ नभएकाले पार्ककै छेउमा रहेको गोरखनाथ बाबाको मन्दिरनजिकै उक्त टहरा बनाइएको उनले जानकारी दिए।
‘संरचना निर्माणाधीन अवस्थामै रहेकाले अहिलेसम्म ६० प्रतिशत काम भएको छ। उक्त संरचना बन्ने स्थानसम्म सडक काटिएको, डोजर लगाएर ठाउँ सम्याइएको, ५ मिटर चौडाई तथा १६ मिटर लामो टहरा बनाइएको छ,’ उनले भने, ‘अब शौचालय तथा शौचालयको खाल्डो निर्माण, रङ्गरोगन, वृक्षारोपण र पानी ट्याङ्की राख्ने लगायतको ४० प्रतिशत कार्य बाँकी छ।’
उनकाअनुसार सामाजिक संजालमा आए जस्तो जम्मै २० लाख भुक्तानी भएको छैन्। ‘इस्टिमेट अनुसार संरचना निर्माणाधीन अवस्थामा छ। असार मसान्तसम्म काम सम्पन्न नभएकाले मेरै नाममा पेश्की छ। काम सम्पन्न भएपछि बिल उठाएर भुक्तानी हुन्छ,’ उनले भने।