डडेल्धुराः जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीमा रहेको महादेव माध्यमिक विद्यालयलाई कक्षा ११ सञ्चालनको लागि अनुमति दिइएको छ।
आलिताल गाँउकार्यपालिकाको बैठकको निर्णयअनुसार विद्यालयलाई शैक्षिक सत्र २०८० देखि ११ कक्षा सञ्चालनको अनुमति दिइएको हो।
विद्यालयका प्रधानाध्यापक दिलबहादुर पार्कीका अनुसार महादेव माविबाट एसईई पास भएका विद्यार्थीले यहाँ कक्षा ११ को पढाइ नहुँदा टाढा–टाढा गएर पढ्नुपर्ने बाध्यता रहेको थियो।
विद्यालयले ११ कक्षा पढाइको अनुमति पाएपछि अभिभावक र विद्यार्थीहरू निकै हर्षित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर धामीले बताए। यहाँबाट एसईई पास भएपछि दुर्गा मावि डोलाका साथै घरेलु, जोगबुडा र बुडरसम्म विद्यार्थीहरू पढ्न जाने गर्दथेँ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले विद्यालय टाढा भएकै कारण बीचमै पढाइ छाड्नुपर्ने बाध्यता पनि थियो। अब त्यो बाध्यता हट्ने अध्यक्ष धामीको विश्वास छ। विद्यालयले कक्षा ११ संचालनमा लागि चन्दा समेत संकलन गरिरहेको छ।