डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन्। आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन्।
मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए।
उनका अनुसार उक्त वस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो। उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन् । ढुंगा खसिरहेकाले उद्वारका लागि विद्यालयमा राखिएको बताइएको छ।
२२ परिवारका १२८ जनालाई राहात स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए।आलिताल गाउँपालिका र वडा कार्यालयको तर्फबाट पहिलो चरणको खाद्यान्न सामाग्री वितरण गरिएको उनको भनाइ छ।
उक्त गाउँमा पहिरोको उच्च जोखिम रहेकाले समयमै परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। वडाध्यक्ष देउवाले पहिरोपीडितहरूलाई आवश्यक थप राहतका लागि सहयोग गर्न सरोकारवाला सबै निकायलाई अपिलसमेत गरे।