Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालको सेवाप्रति गुनासैगुनासा, कसले के भने ?

सेवासँगै व्यवस्थापकीय र प्रशासनिक पक्षमा सुधार गर्नुपर्नेमा जोड

  • प्रकाश पार्की 

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पतालप्रति गुनासा बढेका छन्। जिल्लास्थित सरोकारवालाहरूले अस्पतालले प्रदान गर्ने सेवाहरूप्रति गुनासो व्यक्त गरेका हुन्।

शनिबार अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको सेवाप्रति गुनासाहरू पोखेका हुन्। उनीहरूले अस्पतालमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने व्यवहार नराम्रो नभएको गुनासो गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले अस्पतालमा चिकित्सक नहुँदा सामान्य हात भाँचिएका बिरामीसमेत धनगढी रेफर हुनु निकै दुःखद् भएको बताए। अस्पताल विकास समिति अध्यक्ष बन्न तछाडमछाड गर्ने तर डाक्टर ल्याउन नसक्ने भन्दै उनले अस्पताल व्यवस्थापनप्रति आक्रोश पोखे ।

‘यस अस्पतालको अध्यक्ष बन्न तछाडमछाड गरिन्छ। तर चिकित्सक ल्यान चाहिँ कसैको पहल देखिन’, उनले भने, ‘व्यवस्थापकीय पक्ष कमजोर छ । यसलाई राम्रो बनाउन पहल गरौँ। हामी मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्छौं।’

अध्यक्ष सिंहले कर्मचारी र चिकित्सकहरूको व्यवहार नै रिसालु स्वभावको रहेको गुनासो व्यक्त गरे। राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष टंक अवस्थीले अस्पतालमा बिरामीहरूको सहजताका लागि हेल्प डेस्क स्थापन गर्नुपर्ने माग गरे।

उनले चिकित्सकहरूको व्यवहार सुधार हुनुपर्ने र अस्पताललाई आफ्ना आसेपासेको भर्ती केन्द्र बनाउन नहुने बताए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बाहिर आफ्नो मेडिकलमा औषधि किन्न पठाउने गरेको उनको आरोप थियो।

नेकपा माओवादी केन्द्र अमरगढी नगरपालिकाका नगर अध्यक्ष यादव ओझाले अस्पतालमा आफूले सूचना माग्दा थुनिएको दुखेसो पोखे। ‘सूचना अधिकारीलाई निवेदन दर्ता गराए। १५ औं दिन अस्पतालमा आए। डेढ घण्टा बसेँ तर सूचना पाएन’, उनले भने, ‘उल्टै म सूचना माग्दा थुनिए। सामान्य नागरिकले सूचना माग गर्दा थुनिनुपर्ने अवस्था छ। तर अस्पताल तोडफोड गर्नेलाई पक्राउ गरिएन।’

डाक्टर ल्याउन पनि आन्दोलन नै गर्नुपर्ने हो? भन्दै उनले प्रश्न गरे। उपकरण भएपनि दक्ष जनशक्ति नहुँदा नागरिकले सास्ती भाग्नु परेको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह विष्टले अस्पताललाई हरेक कुरामा पारदर्शी बन्न आग्रह गरे । ‘संख्या देखाउने र राम्रो मात्रै देखाउनका लागि मात्रै वार्षिक समीक्षा गर्नु हुँदैन’ उनले भने, ‘अस्पताल पारदर्शी बन्नु पर्दछ। यसलाई सुधार गर्न आवश्यक छ। राजनीति थलोभन्दा पनि जनसेवाको थलो बनाउनु होला।’

नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले अस्पतालको व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको औंल्याए। ‘व्यवस्थापनसँगै प्रशासन पनि कमजोर छ। अस्पतालको बारेमा चुनाव जितेका यहाँका जनप्रतिनिधिहरू गम्भीर हुनुपर्छ’, उनले भने, ‘अर्को वर्षको समीक्षामा सुधार भएका कुराहरू आओस्, दक्ष जनशक्ति ल्याउन पहल गर्नुपर्छ, आर्थिक पारदर्शिता कायम हुनुपर्छ।’

नेकपा एकीकृत सामाजवादी डडेल्धुराका जिल्ला कमिटी सचिवालय सदस्य डम्बर साउँदले चिकित्सकलाई ल्याउन केन्द्रीय नेतृत्वलाई गुहार गर्नुपर्ने भएपनि जिल्ला तहलले त्यसमा पहल गर्नुपर्ने बताए ।

नेकपा एमाले डडेल्धुराका जिल्ला संयोजक गजेन्द्र शाहीले अस्पतालको भवन निर्माण चाँडै सक्न ठेकेदार कम्पनीलाई ताकेता गर्नुपर्नेमा जोड दिए।

‘११औं तहको मेसु आवश्यक छ अनि मात्रै अस्पतालको गुणस्तर बढ्छ। अस्पताल प्रशासन र व्यवस्थापनलाई सुस्त दुरुस्त बनाउनुपर्छ’, उनले भने, ‘अस्पतालबाट राजनीतिक दलका कुनै पनि संघसंगठनहरूलाई चन्दा नदिनुहोस्। यदि कसैले माग्छ भने हामीलाई भन्नुहोला।’ उनले अस्पताललाई आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाली काँग्रेस डडेल्धुराका सहसचिव प्रेमबहादुर महरले अस्पताल प्रशासनले चिकित्सक ल्याउन कतिको पहल गरेको छ त्यसबारेमा पनि सोच्नुपर्ने बताए । मेसु नै अस्पतालमा नबस्ने गरेको गुनासो आइरहेको उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका अमरगढीका इन्चार्ज सोनलाल दमाईले अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो गरे। उनले भौतिक सुधारले मात्रै नहुने भएकाले अस्पतालको सेवालाई पनि सुधार गर्न आवश्यक रहेको औंल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले अस्पताल निर्माणमा सबै दलको भूमिका रहेको र अब संचालनमा पनि सबैले आ– आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए। उनले अस्पताललाई राजनीतिभन्दा माथि राखेर सबैले यहाँका जनताका हितमा हुने काम गर्नुपर्नेमा जोड दिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टले जनअपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहसहित निरन्तरता कायम राख्न, जनशक्तिलाई टिकाइ राख्न, सेवाग्राही र सरोकारवालाहरूसँग सन्तुलित व्यवहार र सन्तुष्टि प्रदान गर्नु अस्पतालका चुनौतीहरू रहेको बताए।

अस्पताल काठमाडौंदेखि टाढा हुनु, सेवासुविधा कम हुनुले चिकित्सक ल्याउन नसकिएको उनको भनाइ छ। विशेषज्ञ चिकित्सक ल्याउन गाह्रो र त्यसमा पनि उनीहरूलाई टिकाउन झनै गाह्रो रहेको उनले बताए।

‘एक जना डाक्टरले सबै डिपार्टमेन्ट हेर्नुपर्ने बाध्यता छ। सीमित जनशक्ति छन्, कुनै डाक्टर एकदिन पनि बाहिर गए सेवा नै अवरुद्ध हुन्छ’, उनले भने, ‘त्यसैले एक डिपार्टमेन्टमा कम्तीमा तीनजना डाक्टर हुनुपर्छ। भवन समयमै निर्माण नहुँदा डायलासीस सेवा अवरुद्ध छ।’

उनले स्थानीय र प्रदेश सरकारले अस्पताललाई आर्थिक रूपमा सहयोग गर्नुपर्ने बताए। निमित्त मेसु भट्टले मेडिकल कलेज संचालनका लागि पनि प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्रप्रसाद ओझाले सेवाग्राहीका गुनासोहरूलाई सम्बोधन गर्दै अस्पताललाई नमुना बनाउनुपर्नेमा जोड दिए। प्रशासनमा पनि अस्पतालको सेवाका बारेमा बेलाबेलामा गुनासा आउने गरेको उल्लेख गर्दै निमित्त प्रजिअ ओझाले सुधारमा सबैले ध्यान दिनुपर्ने औंल्याए।

‘अस्पतालबारे सातामा एकपटक एकदुई गुनासाहरू आइरहेका हुन्छन्। गुनासो हामीले अस्पतालसँग समन्वय गरेर समाधान गर्दै आइरहेका छौँ’, उनले भने,‘सर्वदलीय टिम बनाएर अस्पतालका समस्याहरूको समाधान खोज्नुपर्छ। अस्पताल प्रशासन र व्यवस्थापनले आफ्नो कार्ययोजना बनाउनुपर्छ। त्यसमा हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौँ।’ उनले अस्पतालको सेवाको प्रवाहका बारेमा प्रशासनले अनुगमन गर्ने र यदि कमजोरी देखिए कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए।

जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले कर्मचारीको व्यवहार र अस्पतालको सेवा सुधारमा अस्पताल प्रशासन र व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताए। उनले अस्तापलको विकास र विस्तारका लागि आफ्नो ठाउँबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले अस्पतालले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी बनाइदिनुपर्ने बताइन् । ‘सेवा प्रभावकारी बनाउनुपर्छ। आगामी दिनमा बिरामीले सास्ती भोगेको खबर सुन्न नपरोस्’, उनले भनिन्, ‘डाक्टर ल्याउन पहल गरिरहेको छौँ। अस्पताल फोहोर छ। अस्पतालको सरसफाइमा पनि ध्यान दिन जरुरी छ।’

उनले सूचना माग्दा नागरिक थुनिने र तोडफोड गर्नेलाई उन्मुक्ति दिने काम अस्पतालबाट हुनु नहुने बताए । प्रदेशसभा सदस्य खड्काले अस्पताललाई कम्तीमा तीन–तीन महिनामा आफूले गरेका कामको पारदर्शी रूपमा सार्वजनिकीकरण गर्न आग्रह गरिन्।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीलले डडेल्धुरा अस्पताल जिल्लाकै पहिचान भएको बताए । अस्पतालको सेवा जिल्लाको पहिचानसँग जोडिएको उनको भनाइ थियो। ‘अस्पतालको गुणस्तर र विश्वसनीयता कायम गर्नुपर्ने हुन्छ। पारदर्शिता हुनुपर्छ’, प्रदेशसभा सदस्य जोशीले भने, ‘आम नागरिकले अस्पतालबाट राम्रो उपचारको अपेक्षा गरेका हुन्छ। सोही अनुसारको सेवासुविधा हामीले दिन सक्नुपर्छ।’

उनले अस्पतालको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले आएका महत्वपूर्ण सुझावहरूलाई आत्मसाथ गर्दै आगिड बढ्ने प्रतिबद्धता जनाए। उनले आफ्नो दोस्रो कार्यकालमा पनि अस्पतालको सेवा सुधारमा अनवरत रूपमा लागिरहेको बताए।

यहाँ डाक्टर नपठाउनुमा मन्त्रालयको नै दोषी भएको उनको आरोप छ। ‘अस्पतालका कमीकमजोरी सुधार गरेर जान्छौं। दोस्रो कार्यकाल चुनौतीपूर्ण छ। सबै पक्षको सुझाव र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने, ‘तीनचार महिनादेखि यहाँ भएका डाक्टरहरू सरुवा भएर गए। डाक्टर नपठाउनुमा मन्त्रालयको नै दोषी हो। हामीले पटकपटक पत्राचार गरेका छौँ। तर डाक्टर आउदैनन्।’

अस्पतालमा दरबन्दीअनुसारका कर्मचारीहरू अझैं पदपुर्ति हुन सकेका छैनन्। १०९ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ५२ जना मात्रै कार्यरत रहेको सूचना अधिकारी टंक पन्तले जानकारी दिए।

उनका अनुसार ४७ पद रिक्त छन्। कार्यक्रममा अस्पतालका सूचना अधिकारी पन्तले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। गतवर्ष अस्पतालबाट एक लाख ४९ हजार ४९० जनाले स्वास्थ्य सेवा पाएका छन्। २०७० सालमा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पताल घोषणा गरिएको यस अस्पताललाई ०७५ सालमा फेरि नाम परिवर्तन गर्दै संघीय सरकारले डडेल्धुरा अस्पताल राखेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।