डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ ले कुल बजेटको १० प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ।
प्रायजसो बजेट बाँडफाँड तथा विनियोजन गर्दा सडक, धारा, कुला, मन्दिर गर्ने गर्दछन्। तर, अजयमेरु–१ ले भने कुल बजेटको १० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको वडाध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी दिए।
वडाले कुल बजेटको १० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य क्षेत्रमा छुट्याउनु राम्रो पक्ष भएको हेल्थ असिस्टेन्ट एवं वडासचिव मदन पाण्डेयले बताए। उनका अनुसार २५ लाख ५५ हजार कुल बजेटको स्वास्थ्य क्षेत्रमा २ लाख ८८ हजार ५ सय विनियोजन गरिएको हो।
‘नेपालको संविधानमा कुनै पनि नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गराइने छैन भन्दै गर्दा पनि स्वास्थ्य क्षेत्रमा एकदमै कम बजेट विनियोजन गरेको देखिन्छ,’ उनले भने, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। स्वास्थ्य भए मात्रै अरु सूचाङ्कहरु राम्रा हुने हुन्छन्।’
अहिलेको मुख्य समस्यालाई आधार मानेर बजेट विनियोजन गरिएको उनले बताए। उनले भने, ‘दीर्घ रोग अहिलेको ठूलो समस्या छ। सो रोगहरू लागि सकेपछि परिवारमा ठूलो आर्थिक भार हुने भएकाले हामीले वडास्थरमा एउटा दीर्घ रोग जाँच र अर्को अतिगरिब तथा विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि सारेका छौँ।’
माहिला स्वास्थ्य स्वयंसेविका लागि पनि उत्तप्रेरणा र पुरस्कारको लागि बजेट विनियोजन गरिएको वडा सचिव पाण्डेयले जानकारी दिए। स्वास्थ्यसँगै शिक्षा र कृषिमा पनि अलि फरक तरिकाले बजेट विनियोजन गरेको वडाध्यक्ष्य भण्डारीले बताए।