Radio Unity 92.2MHz

भुक्तानी माग्दै डडेल्धुराका निर्माण व्यवसायी आन्दोलित

डडेल्धुराः सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट रुपले म्याद थप हुनु पर्ने लगायतका ९ बुँदे माग अघि सार्दै निर्माण व्यवसायी संघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।

निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले दिएको म्यान्डेट अनुसार निर्माण व्यवसायी संघ डडेल्धुराले आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो।

‘निर्माण व्यवसायी एकता जिन्दावाद, अव्यवहारिक मालस्टोन खारेज गर, जुनसुकै अवधिका ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाठ निर्माण कार्य गर्ने नियम खारेज गर, विभिन्न निकायमा काम गरे बाफतको रकम तुरुन्त भुक्तानी गर’ लगाएतका माग अगाडि सारेका छन्।

जिल्ला प्रशासन अगाडि आन्दोलकारीहरूले प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए।

युनिटी खबरसँग कुराकानी गर्दै निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले निर्माण व्यवसायीलाई सरकारले अन्याय गरेको बताए।

‘सरकारले हाम्रो समस्या समाधान नगरि दिएपछि आन्दोलन गरिरहेका छौं। डडेल्धुरासहित देशभरी नै हामी आन्दोलन गर्दैछौं। सीडिओ साबलाई ज्ञापन पत्र पनि बुझाइसक्यौं,’ उनले भने, ‘आज हामी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहेका छौं।’

उनले साउन १५ अर्थात् भोली प्रधानमन्त्री निवास घेराउ गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए। साउन १६ गते देखि भने महासंघले माग पूरा नभएसम्म निर्माण यन्त्र उपकरण तथा औजार सहित संघीय राजधानी केन्द्रित सशक्त प्रदर्शन गर्ने उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...