Radio Unity 92.2MHz

अजयमेरु गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमबार गाउँपालिकाले पालिका प्राङ्गणमा गत आर्थिक वर्ष २०७९/८० वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो।

गाउँपालिकाले गत आर्थिक वर्षमा संचालन गरेका योजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले जानकारी दिए। उनले सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

गाउँपालिकाले गत आर्थिक वर्षमा ९५.५२ प्रतिशत भौतिक प्रगति र ९३.१९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको उनले बताए। उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले ११०.०२ प्रतिशत राजश्व संकलन गरेको छ।

कार्यक्रममा स्थानीय सेवाग्राहीहरूले सुझाव तथा जिज्ञासाहरू राखेका थिए। स्थानीय कर्ण मल्लले सर्वाजनिक सुनुवाइ कार्यक्रममा जहिल्यै पनि जनसहभागिता कमी हुने गरेको बताए। उनले गाउँपालिका चुनाव हारेरका नेताहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।

उनले भद्रपुर प्रहरी चौकाको व्यवस्थापनमा गाउँपालिकाले ध्यान नदिएको गुनासो पोखे। मल्लले लम्पी स्किन रोग नियन्त्रणमा पालिका सरकारको ध्यान नपुगेको पनि बताए। गाउँपालिका शिक्षाको गुणस्तर बढ्न नसकेको उनको भनाइ थियो।

‘शिक्षामा गाउँपालिकाको लगानी छ तर प्रतिफल राम्रो आइरहेको छैन। किन यस्तो भएको हो?’ उनले गाउँपालिका अध्यक्षलाई प्रश्न गरे। प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले शिक्षा क्षेत्र सुधारोन्मुख रहेको बताए।

उनले देवल माविको उदाहरण दिँदै उक्त विद्यालय जिल्लाकै उत्कृष्ट घोषित बनेको स्मरण गराए। प्रहरी चौकाको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइरहेको र जग्गा खोजेर स्थायी रूपमै प्रहरीको भवन निर्माण हुने बताए। लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले ध्यान नदिएको भन्ने कुरा गलत भएको अध्यक्ष भट्टको दाबी थियो।

‘लम्पी स्किन एक प्रकारण महामारी हो। त्यसको अहिलेसम्म कुनै पनि भ्याक्सिन बनेको छैन’, उनले भने, ‘त्यसैले हामीले सञ्चारमाध्यमबाट यसको बारेमा किसानहरूलाई सचेत गराइरहेका छौँ।’

अधिकांश सहभागीहरूले पालिका जोड्ने र अन्य ग्रामीण सडकसम्बन्धी प्रश्न गरेका थिए। गाउँपालिका अध्यक्ष भट्टले पालिका जोड्ने सडक कालोपत्रे गर्नका लागि फाइल तयार गरेर सम्बन्धित निकायमा पुगेको बताए। गाउँपालिकाको बजेटले भ्याएसम्म ग्रामीण सडकहरूको स्तरोन्नति गरिएको बताए।

कार्यक्रममा गरिब परिचयपत्रमा धनीमानी तथा सरकारी जागिर गरिरहेकाहरूको समेत नाम भएको भन्दै प्रश्न उठेको थियो। त्यसमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले संकलनकै क्रममा त्रुटि भएको बताए। संघीय सरकारले नै गरिब परिचयपत्र संकलन गरेकारले अब स्थानीय तहले त्यसलाई संशोधन गर्न नमिल्ने उनको भनाइ थियो।

देवल माविका प्रधानाध्यापक डम्बर पालले गाउँपालिका संचालित जिपहरूले यात्रुबाट मनोमानीहरूमा भाडा लिने र त्यसतर्फ गाउँपालिकाले ध्यान दिनुपर्ने बताए। गाउँपालिका अध्यक्ष भट्टले जिप व्यवसायीहरूलाई पटक–पटक निर्धारण गरिएको भन्दा बढी भाडा नल्याउन निर्देशन दिइएको र फेरि त्यसमा कडाइ गरिने बताए। छाडाचौपायाका विषयमा अध्यक्ष भट्टले तिनीहरूको व्यवस्थापन गरिरहेको र त्यसमा पालिकाबासीले पनि साथ दिनुपर्ने औंल्याए।

गाउँपालिका उपाध्यक्ष बसन्ती पालले अनुगमनको पाटोलाई पालिकाले प्रभावकारी रूपमा अगाडि बढाएको बताइन्। उनले योजना, विद्यालय र अन्य क्षेत्रको अनुगमनलाई तीव्रता पनि दिइएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने जानकारी गराइन्। उनले महिलाको आर्थिक अवस्थालाई सुधार गर्ने खालका कार्यक्रमहरू गतवर्ष र चालु आर्थिक वर्षमा पनि संचालन गरिने बताइन्।

नेपाली काँग्रेस अजयमेरुका पार्टी सभापति टेकराज पाण्डेयले सार्वजनिक सुनुवाइमा आएका सुझावलाई सहर्ष स्वीकार गर्न पालिका नेतृत्वलाई आग्रह गरे। ‘राम्रो काम गर्नुभएको छ। तर सार्वजनिक सुनुवाइमा पाँचवर्ष अघि र अहिलेको अवस्था के छ र थियो त्यो कुरा पनि देखाउनुपर्छ’, उनले सुझाव दिँदै भने, ‘आगामी सार्वजनिक सुनुवाइमा त्यो कुरालाई पनि समेटियोस्।’

उनले विदेशिने युवालाई पालिकामै राख्न र युवा जोड्ने खालका कार्यक्रम ल्याउन अनुरोध गरे। यसका साथै उनले विकास निर्माणमा कसैलाई काखापाखा नगर्न र आफ्नो क्षेत्रलाई मात्रै नहेर्न भन्दै अध्यक्ष र उपाध्यक्षको ध्यानाकर्षण गराए।

गाउँपालिका उपाध्यक्ष पालले रचनात्मक सुझावका लागि सबैलाई धन्यवाद दिइन्। उनले आगामी दिनमा पनि सबै कर्मचारी उत्कृष्ट काम गर्ने अपेक्षा गरिन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।