Radio Unity 92.2MHz

अमरगढी नगरपालिकाले गर्‍यो बडाकाजी थापाको स्मृति दिवसको बेवास्ता

'न सार्वजनिक बिदा दियो, न कोही दिवस मनाउन नै आए'

डडेल्धुराः जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले अमरसिंह थापाको स्मृति दिवसको बेवास्ता गरेको छ। नगरपालिकाले थापाको २०७औँ स्मृति दिवसको बेवास्ता गरेको हो।

विगत केही वर्षयतादेखि थापाको स्मृतिमा सार्वजनिक बिदा दिने नगरपालिकाले यसपटक भने बिदा दिएन। यसका साथै स्मृति दिवस मनाउन नगरपालिकाका कोही पनि जनप्रतिनिधि वा नगरपालिकाका कार्मचारी उपस्थित नभएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविण जैरुले बताए।

नगरपालिकाले पहिलोपटक ऐतिहासिक निर्णय गरी २०७७ मा राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृतिमा सार्वजनिक बिदा दिएको थियो। तत्कालीन नगरप्रमुख विशेश्वरप्रसाद ओझा नेतृत्वको कार्यपालिका बैठकले सार्वजनिक दिने बिदा निर्णय गरेको थियो।

थापाले डडेल्धुरामा १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले ०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो । तर, अमरगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय भने पहिलोपटक ०७७ मा गरेको थियो।

गतवर्ष पनि नगरपालिकाले थापाको स्मृतिमा सार्वजनिक बिदा दिएको थियो। यसवर्ष बिदाको बारेमा आफूलाई जानकारी नभएको र स्मृति दिवस मनाउन भने प्रतिनिधि पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले बताए।

‘बिदा त केही गरिएन क्यारे। दिवस मनाउन चाहिँ कोही प्रतिनिधि जानु भएको थियो। नगएको म मात्रै हुँ’, उनले भने, ‘बिदाको बारेमा एकपटक मेयरसा’प नै सोध्नुहोला।’

नगरप्रमुख डिल्लीराज जोशी पनि बिदा र दिवसबारे अनविज्ञ छन्। उनले विगतमा बिदा दिएको बारेमा आफूलाई जानकारी नदिएको र यसबारे बुझ्ने प्रतिक्रिया दिए। ‘नगरपालिकाले दिवसमा बिदा दिन्थ्यो र?’, उनले प्रश्न गर्दै उनले भने, ‘बिदाको बारेमा मलाई थाहा भएन। म यसबारेमा बुझ्छु।’

विगतका वर्षमा स्थानीय सरकार अमरगढीले विभिन्न कार्यक्रम गर्ने गरेको भएनि यसवर्ष भने कुनै पनि चासो नदेखाएको किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष जैरुले बताए। उनले भने, ‘अमारगढी नगर पालिकालाई खबर गरेका थियौं। तर पालिकाबाट कोही पनि आएनन्। नगरपालिकाले ऐतिहासिक किल्लाको बारेमा चासो समेत राख्न छाडिसक्यो।’

अमरगढी किल्लाको लागि कुनै किसिमको चासो नदिँदा किल्ला दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। यस किल्लाको संरक्षणमा पटक–पटक नगरपालिकालाई जानकारी गराएपनि चासो नदेखाउँदा जीर्ण बनेको स्थानीय श्याम सिनालले बताए। अमरगयढी नगरपालिकाले किल्लाबाट उठएको रकम मात्र आफू लैजाने तर किल्लाको संरक्षणमा सिन्को समेत नभाचेको र बेवास्था गरेको उनको आरोप छ।

अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिसँगको सहकार्यमा नेपाली सेनाले मंगलबार अमरसिंह थापाको २०७औँ स्मृति दिवास मनाएको छ। बिहान एक कार्यक्रमको आयोजना गरी रणबम गण दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी बालमुकुन्द थापाको नेतृत्वमा वडाकाजी अमरसिंह थापाको सालिकमा फूलमालासहित सलामी अर्पण गरेको थियो।

ऐतिहासिक अमरगढी किल्ला अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ। समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार पाँच सय फिट रहेको छ। बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना कुमाउ गढवालसम्म पुगेको थियो।

एकीकरणको अभियानका बेला वि.सं. १८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्धभयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए। तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले यो ‘अमरगढी किल्ला’ को रूपमा परिचित छ।

गतवर्ष नगरपालिकाले दिएको बिदाको सूचना :

 

सम्बन्धित पाेष्टहरु
Loading...