Radio Unity 92.2MHz

डडेल्धुरामा लागुऔषध ओसारपसारको आरोपमा एकजना पक्राउ

डडेल्धुराः लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डडेल्धुरामा एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडा चोकस्थित ‘हाम्रो माछा पसल’का सञ्चालक २५ वर्षीय विरेन्द्र बोगटीलाई प्रहरीले पक्राउ गरिएको हो।

लागुऔषध खैरो हिरोइन मुद्दाको अनुसन्धानको सिलसिलामा बोगटी लागुऔषध खैरो हिरोइन ओसारपसारमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९. ९० ग्रामसहित गत असार ९ गते बझाङ तलकोट गाउँपालिका–१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ बस्ने राजकुमार रोकायालाई पक्राउ गरेको थियो।

डीएसपी भट्टका अनुसार प्रहरी अनुसन्धानमा उनीहरूसँगै बोगटीको पनि लागुऔषध ओसारपसारमा संलग्नता रहेको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। पछिल्लो समय लागुऔषध नियन्त्रणमा डडेल्धुरा प्रहरी सक्रिय छ।

जिल्लामा लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्दै आएको छ। गत साता पनि अमरगढी नगरपालिका–१ स्याउलेबाट भारतीय नागरिक २४ वर्षका मुन्ना खान खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका थिए। भारतको पिलिभित मोहल्ला गाउँका उनी स्याउलेस्थित एक ग्यारेजमा जीप मर्मतको काम गर्दै आएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...