Radio Unity 92.2MHz

डडेल्धुरामा मनाइयो भीमदत्तको स्मृति दिवस, नेविसंघले बाँड्यो कैदीबन्दीलाई फलफूल

डडेल्धुराः जोताहा किसानका पक्षमा वकालत गरेका शहीद भीमदत्त पन्तको ७०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। बुधबार जिल्ला सदरमुकाममा शहीद पन्तको स्मृति दिवस मनाइएको हो।

दिवसका अवसरमा बिहान जिल्ला सदरमुकामको बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गएिको छ। स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गरेको छ।

१६१ जना कैदीबन्दीलाई फलफूल वितरण गरिएको नेविसंघ डडेल्धुराका उपसभापति तारणी पन्तले बताए। फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारी, काँग्रेस अजयमेरु गाउँ सभापति टेकराज पाण्डेय, अमरगढी नगरपालिका–१ का वडासभापति करन बोहरालगायतको उपस्थिति रहेको थियो।

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रूपमा स्मरण गर्ने गरिन्छ।

भीमदत्त स्मृति प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएपनि २०७२ फागुन १९ गते बुधबारका दिन मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।

नेपाली किसान आन्दोलनका महान् शहिद पन्तको जन्म डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते भएको थियो। भीमदत्त आमा सरस्वती र बुवा तारनाथ पन्तका सुपुत्र हुन्।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारकाविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त पन्त नै थिए।

‘ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान भीमदत्तले चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो।

‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो–यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

उत्तरप्रदेश भारतको सिन्हाइबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका, गीता र मार्क्सवादको राम्रो ज्ञान राख्ने पन्तलाई सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने पहिलो व्यक्तिका रूपमा चिनिन्छ।

उनले अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेका थिए। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारूहरू संगठित गरि मुक्ति सेना गठन गरे।

२०१० साल साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमामा पर्ने गल्लेख भन्ने ठाउँमा नेपाल र भारत दुवै देशका सेनाहरूको टोलीले संयुक्त रुपमा घेरा हालेर उनको हत्या गरेको बताइन्छ। हत्यापछि पनि उनको टाउको काटेर सार्वजनिक स्थानमा झुण्ड्याइएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...