Radio Unity 92.2MHz

अमरगढीमा वडाअध्यक्ष र वडासचिवको किर्ते हस्ताक्षर : मेयर भन्छन्– बुझ्दै छु

कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी

डडेल्धुराः जनताका लागी विनियोजित गरेको रकम वडा अध्यक्ष र वडा सचिवले नै किर्ते हस्ताक्षर गरेर रकम झ्वाम पारेको तथ्य बाहिरिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–४ का वडा अध्यक्ष प्रमानन्द साहु र वडा सचिव केशवराज ओझाको मिलेमतोमा विपद् व्यवस्थापनको रकम किर्ते हस्ताक्षर गरि भुक्तानी गरेको पाइएको छ।

आर्थिक वर्ष २०७९/०८० अन्तरगत वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा रहेको ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको छ।

वडाका ३६ जना स्थानीयको किर्ते हस्ताक्षर गरेर वडा अध्यक्ष प्रमानन्द शाहु र वडा सचिव केशवराज ओझाले रकम हिनामिना गरेको स्थानीयको आरोप छ। भरपाइमा नाम भएकी ललिता सिकर्मीले सामग्री र नगद नपाएको र कीर्ते हस्ताक्षर गरेको आरोप लगाइन्।

उनले भनिन्, ‘मैले केही पाएन, दस्दखत पनि गरेन्। सामाजिक सञ्जालबाट थाहा पाए, के रहेछ भनेर आज बुझ्न आएकी हुँ।’

स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ । नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखिएको छ।

यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखिएको छ । स्थानीय भुवन दमाई भन्छन्, ‘मैले निवेदन पनि दिएको छैन्। म शारीरिक अशक्त मान्छे हुँ। तर, मेरो नाममा भरपाई गरिएको छ।’

आश्चर्य जनक कुरा त के छ भने, वडा कार्यालय जुन व्यक्तिको घरमा भाँडामा छ। त्यही घरबेटी पवन थापाको नाममा त्रिपाल लगेको देखाएको छ। थापा भन्छन्, ‘नाम बेचेर कमाउने कार्य भयो। मेरो नाममा दुई वटा त्रिपाल लेखिएको छ। मलाई आवश्यकता नै छैन्।’

वडाबाट आफूले केही नलिएको भएपनि किर्ते हस्ताक्षर गरेर आफ्नो बेइज्जत गरिएको उनको आरोप छ।

त्यति मात्रै होइन वडामा नाम नै नभएका व्यक्तिको नाम समेत भरपाईमा राखिएपछि किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको भन्दै ५ जना स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर कारबाहीको माग गरेका छन्।

किर्ते हस्ताक्षर गरेर रकम हिनामिना भएपछि स्थानीय वडा कार्यालयमा पुगेका छन्।

तर, वडाअध्यक्ष र वडा सचिव भने सम्पर्क बिहीन छन्। यस विषयमा बुझ्न वडा अध्यक्षलाई फोन गर्दा मोबाइल स्विचअफ गरिएको छ भने वडासचिवको फोन नै उठाएनन्।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले पनि यस विषयमा प्रतिक्रिया दिन मानेनन्।

नगर प्रमुख डिल्लीराज जोशीले यस बारे आज मात्रै थाहा पाएको बताए। ‘चार नम्बरको कुरा आज थाहा पाए। म बुझ्दै छु,’ उनले भने।

सम्बन्धित पाेष्टहरु
Loading...