- शेर भण्डारी
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–६ मसिनजला गाउँका रोहन दमाई कक्षा तीनमा पढ्नुहुन्छ। तर, गत असारदेखि उहाँ विद्यालय जानु भएको छैन्।
कारण हो, खोलामा पुल नहुनु। उहाँ परशुराम नगरपालिका–७ को शिवशंकर माध्यमिक विद्यालय सादनीमा अध्ययनरत छन्।
तर, विद्यालय जाँदा बाटोमा पर्ने कसान खोला र नौला खोलामा पुल छैन्। भित्री मदेश क्षेत्र अन्र्तगतका यी खहरे खोला वर्षाद्मा उर्लिएर आउँछन्। जस कारण उहाँसहित यहाँका विद्यार्थी खोला तर्न सक्दैनन् र विद्यालय जाँदैनन्।
‘वर्षात्मा खोला आउँछ, तर्न सक्दैनौ त्यसैले हामी तीन महिना विद्यालय जाँदैनौ,’ रोहनले भन्नुभयो, ‘अब पुल बनेपछि मात्रै विद्यालय जान्छौं।’
वर्षाद्का तीन महिना असार, साउन र भदौमा मसिनजला गाउँका विद्यार्थी विद्यालय जाँदैनन्। यो दलित बस्ति हो। यहाँ १३ परिवार बसोबास गर्दे आएका छन्।
स्थानीय मञ्जु दमाई भन्नुहुन्छ, ‘हाम्रो गाउँमा धेरै समस्या छ, बालबालिका खोलामा पुल नहुँदा तीनचार महिना घरमै बस्छन्। चुनावको समयमा नेताहरू पुल हाल्दिन्छु भनेर आउनुभएको थियो। समिति पनि गठन भयो। तर, पुल बनेन्।’
शिवशंकर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत राजेश धामी पानी परेका बेला अभिभावकको सहयोग बिना विद्यालय जानै सक्नुहुन्न्। परशुराम–६ खालीगडाका धामीले विद्यालय जाँदा बाटोमा ठूलीगाड खोला पर्छ।
अरु बेला सहजै पार गर्न सकिने ठूलीगाड खोला पानी पर्ने बित्तिकै उर्लिएर आउँछ। उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाएर धामीजस्ता विद्यार्थीहरू पढ्न जान्छन्।
‘बर्खा लागेपछि सधैें खोला तारिदिनुपर्छ, एक्लै त खोला तर्न नै सकिन्न्’, धामी भन्नुहुन्छ, ‘जुत्ताचप्पल फुकालेर अरूको सहायतामा खोला तर्नुपर्छ। कहिले किताब, कापी त कहिले जुत्ता चप्पल बग्छन्। हामी गाउँबाट ६०÷७० जना विद्यार्थी विद्यालय आउँछौं।’
आफूहरू जेनतेन विद्यालय पुगेपनि स–साना बालबालिका पढाइबाट बञ्चित हुनु परेको विद्यालयकै विद्यार्थी धना खत्री बताउनुहुन्छ। ‘ज्यान हत्केलामा राखेर विद्यालय आउनुपर्छ। पुल बनाइदिन आग्रह गर्दा कसैको ध्यान जाँदैन्,’ उहाँले भन्नुभयो।
विद्यार्थीले खोला तर्न नसक्ने भएपछि यस क्षेत्रका अभिभावकहरू विद्यार्थीलाई खोला तार्न पालो लगाउने गरेका छन्। कराली, खालगडा, भोरकुण्डा र मसिनजलाका ५०÷६० जना विद्यार्थीलाई दैनिक खोला तार्नु पर्ने करालीका स्थानीय रामदत्त अवस्थी बताउनुहुन्छ।
‘आज खोला तार्ने मेरो पालो हो, धौधौ तारे। जप्पल जुत्ता त लेतोमा डुबेर बाटोमै हराइसके,’ उहाँले भन्नुभयो, ‘गत वर्ष नै मेयर सापले पुल हाल्दिन्छु भन्नुभएको हो। हाल्नुभएन्। फेरी करीडोरले हाल्दिन्छ भनेको हो हालेन्। वर्षो भइसक्यो हाल्छन् कि हाल्दैनन्।’
१२ कक्षासम्म पढाइ हुने शिवशंकर माध्यमिक विद्यालयमा टाढाटाढाबाट विद्यार्थीहरू पढ्न आउने गरेको शिक्षक विरेन्द्रबहादुर साउँद बताउँछन्। भू वनोट असाध्यै असहज रहेको उहाँको भनाइ छ।
‘वर्षाद्मा बाटोघाटो र खोला नालाका समस्या विद्यार्थीले भोगिरहेका छन्। कसान, घट्टे, ठूलीगाड, पुन्तुरा, र रंगुन खोला लगाएतमा पुलको समस्या छ,’ उहाँले भन्नुभयो, ‘कापी, किताव बगाएर विद्यार्थी आउँछन्, आकाशमा बादल लाग्ने वितिक्कै खोला आउँछ सर भनेर पढाइ छोडेर घर जान्छन्।’
शिवशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज अवस्थी खोला तर्न नसेकर विद्यार्थी विद्यालय नआउने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘बालबालिका आफ्नो अधिकारबाट पनि बञ्चित भएका छन्। स्थानीय, प्रदेश र संघीय सरकारले बालबालिकाको उज्जवल भविष्यका लागि भएपनि ती खोलामा पुल बनाइदिनु पर्छ।’
के भन्नुहुन्छ त जनप्रतिनिधि ?
पटकपटक प्रदेश र संघ सरकारसँग पहल गर्दा पनि पुल बन्न नसकेको परशुराम नगरपालिका–६ का वडाअध्यक्ष खगेन्द्रबहादुर सिँह बताउनुहुन्छ।
नगरपालिकाको बजेटले भ्याउँदैन्। प्रदेश र संघ सरकारले मात्रै गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पुलकै लागि सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीलाई भेटेको थिए। हुन्छ भन्नुभयो, तर बजेट आएन्।’
घट्टे खोलमा महाकाली करीडोरले पुल बनाउने भनेर बजेट विनियोजन गरेको छ अब टेण्डर खोलेर चाँडै त्यो खोलामा पुल बन्ने उहाँको भनाइ छ।
भुपेन्द्र धामीको सहयोगमा