Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमा बेइमानी : प्रोटोकल मिचेर अध्यक्षले पेस्की लिएको खुलासा

डडेल्धुराः डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको खुलासा भएको छ।

अध्यक्षले पेस्की लिन नपाइने प्रावधान हुँदाहुँदै अध्यक्ष ओझाले आफ्नो प्रोटोकल मिचेर पेस्की लिएको खुलासा भएको हो।

गत आर्थिक वर्ष २०७९ को साउन महिनामा डडेल्धुरा अस्पतालले सुष्मा कोइराला मेमोरियल अस्पताल काठामाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय तथा डडेल्धुरा अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको थियो।

सो शिविर सञ्चालनका लागि अध्यक्ष ओझाले आफ्नो नाममा २१ लाख ८६ हजार रूपैयाँ पेस्की लिएको पाइएको हो। जुन विषयलाई कञ्चनपुरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समेत चासो राखेको छ।

साउन १५ गते अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षले पेस्की लिएको सम्बन्धमा लागत अनुमान स्विकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचर लगाएतका कागजात पन्ध्र दिन भित्र पठाउन समेत ताकेता गरेको छ।

के भन्छन् त ओझा ?
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको कुरा स्विकार गरे।

स्विकृत भएको रकम गत आर्थिक वर्ष २०७९ को असारमा कार्यालयमा आएको र शिविरको लागि समय नभएकोले बजेट फ्रिज जानबाट रोक्न आफ्नो नाममा पेस्की लिएको उनले जिकीर गरे।

करुणाकर ओझा, अध्यक्ष, डडेल्धुरा अस्पताल

‘असार अन्तिम तिर बजेट आयो। समय नभएको अवस्थामा शिविर कसरी सञ्चालन गर्ने? भनेर छलफल गरियो। कार्यालयमा रहेका कर्मचारीले पनि के के कार्यक्रम गर्ने भनेर पेस्की लिइसकेको अवस्था थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा उहाँहरूले पेस्की लिन गाह्रो हुने भयो। यो रकमलाई फ्रिज जानबाट कसरी रोक्ने त? भन्ने किसीमले हामीले छलफल गरेर मैले आफैले रिस्क मोलेर पेस्की लिएको हुँ।’

उनले आगोले जलेका र प्लास्टिक सर्जरी गरेका केसहरू अस्पतालमा सधै आइरहने भएकोले ती केसहरूलाई मध्येनजर गर्दै आवश्यकता महसुस गर्दे शिविर सञ्चालन गर्न सुष्मा कोइराला मेमोरियल अस्पताल काठामाडौंसँग सम्झौता गरिएको बताए।

‘अस्पताल एउटा मानविय सम्वेदनशिलताको ठाउँ हो। पेस्की लिने आर्थिक अख्तियारी छैन्। तर, पनि आफ्नो प्रोटोकललाई मिचेर बाध्यता भएर पेस्की लिएको हुँ। यसमा कुनै पनि मिसयुज भएको छैन्। र, हामीले सम्झौता अनुसार शिविर सञ्चालन गरेका छौं,’ उनले भने।

शिविर सञ्चालनमा एक रुपैया पनि तलमाथि भए आफू जस्तो सुके कारबाहीको भागेदार हुन तयार रहेको उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...