डडेल्धुराः आफ्नो घरजाने सडक छेउमै अमरगढी नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी नगरपालिका–१ मालम गाउँवासीले अमरगढी नगरपालिका घेराउ गरेका छन्।
हिजो ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै आज(सोमबार) उनीहरू नगरपालिकाबिरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनकारी स्थानीयले ‘डिल्ली तेरो पाराले दुःख पायो साराले, डिल्लीराज मुर्दावाद, गफाडी मेयर चाहिदैन’ लगायतका नारासमेत लगाएका छन्। बसपार्कबाट जुलुस निकालेर उनीहरू नगरपालिका पुगेका हुन्।
मेयरको भाइले हातपात गरेको आरोप
शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका बेला नगरप्रमुख डिल्लीराज जोशीको भाइले हस्तक्षेप गरेको र आफूहरू माथि हातपात गरेको स्थानीय लक्ष्मीदेवी तमोलीले बताइन्।
‘हाम्रो ठाउँमा फोहोर न फाल्नु, स्याल र बाँदरले आक्रमण गर्छन् भनेर फोहोर फाल्ने गाडि रोक्न आएका हौं। हामीले लगाएको तरकारी बाँदरले सखाप पार्दैछन्,’ उनले भनिन्, ‘तर मेयरले गुण्डा लगाएर म माथि हातपात गर्न लगायो।’
विकास अन्त गर्ने तर फोहोर हाम्रो मालमको वनमा फाल्ने गरेको कारण आन्दोलनमा उत्रिएको स्थानीय हरिना टमटाले बताइन्।
‘बाटोमै फाहोर फालेको छ। एक्लै आवतजावत गर्न पनि समस्या छ। मेयरसँग वार्ता गर्न आएका हौं,’ उनले भनिन्, ‘तर मेयर लुकेर बसिराख्नु भएको छ। महिलामाथि हातपात हुँदा समेत प्रहरीले केही गर्न सकेन्। तर, डिल्लीराजको लागि भने प्रहरीले सुरक्षा दिइरहेको छ।’
नगरप्रमुखले मालम गाउँलाई मसान घाट जस्तै बनाइराखेको स्थानीय नरबहादुर दियालको आरोप छ। उनले भने, ‘हिजो पनि हामी यहाँ पुगेका थियौं। हिजो पनि मेयरको भाइले हामीमाथि आक्रमणको प्रयास गर्यो। आज पनि हाम्रो दीदी बहिनीमाथि आक्रमण ग¥र्यो।’
आतंककारीसँग वार्ता नगर्ने : मेयर जोशी
आन्दोलनकारी स्थानीयले नगरपालिका घेराउ गरेपछि अहिले नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, नगर प्रमुख डिल्लीराज जोशी भने वेपत्ता छन्।
तर, उनीसँग फोनमा कुरा गर्दा उनले आतंककारीसँग वार्ता नगर्ने प्रतिक्रिया दिए। ‘हिजो पनि आतंक मच्चायो। आज पनि आतंक मच्चाउँदै छन्। एक जना मान्छेलाई समेत् कुट्यो,’ उनले भने, ‘आज तीनिहरूले कुट्यो भोली उनीहरूले कुट्यो भने के हुने? त्यही भएर आतंकवादीहरूसँग मेरो कुरा हुँदैन्।
उनले आतंकवादीसँग कुरा नगर्ने र वार्ता गर्ने मान्छेसँग मात्रै कुरा गर्ने बताए। म जिल्ला प्रशासनमा गएर कुरा गर्छु। आतंककारीसँग गर्देन्,’ उनले भने।
प्रमुख प्रशासकीय भन्छन् : फोहोर जुम्ला लग्नु भएन्
फोहोरको समस्या यहाँका साझा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए। उनले जग्गा नगरपालिकाले नदिएपछि फाहोर जुम्ला लग्ने कुरा नभएको बताए। जग्गा व्यवस्थापनका लागि आफू लागि परेको उनको भनाइ छ।
‘नगरपालिकाको समस्या मात्रै होइन्। हाम्रो समस्या पनि हो भनेर बझ्दिनु पर्छ। हामी व्यवस्थित ल्यान्ड फिल्ड साइड बनाउँनु पर्छं भनेर ६ महिनादेखि लागेका छौं,’ उनले भने, ‘त्यो हाम्रो फाइल संघीय मामिला मन्त्रालयमा पेस भएको छ। त्यो मन्त्री परिषदको निर्णय भइसकेपछि त्योलाई उचित व्यवस्थापन गरेर कुहिनी नकुहिने र गाउँबाट दाजुभाइ दिदीबिहीनीले नारा लगाउन नपर्ने भनेर हामी लागि परेकै छौं।’
पिकनिक स्पोट नजिकै डम्पिङ साइड
फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केहि महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको छ।
जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छ।