डडेल्धुराः अमरगढी नगरपालिका–२ मा ठेउका (लिची) नामक मदिराको अवैध बिक्री वितरण वडाध्यक्षको टाउको दुखाइको विषय बनेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष हेमराज पन्तले ठेउका (लिची) नामक मदिराको अवैध बिक्रीले वडामा समस्या बढ्दै गएको गुनासो गरको हुन्।
अवैध रूपमा ठेउका (लिची) नामक मदिराको अवैध बिक्री वितरण भएको गुनासो वडामा व्यापक आउने गरेको उनले बताए। तर, वडाध्यक्ष र प्रहरी सक्रिय भएर मात्रै नियन्त्रण गर्न नसकिने उनको भनाइ छ।
उनले मदिरा नियन्त्रणका लागि गाउँ घरका महिलाले सक्रियता बढाउनु पर्नेमा जोड दिए। मदिरा बिक्री वितरणको सूचना आफूलाई भन्दा स्थानीयलाई बढी हुने उनी बताउँछन्।
‘आ–आफ्नो टोलमा एउटा महिला समूह गठन गरिदिनुहोस्, म आउँछु भनेर मैले पटकपटक पनि आग्रह गरे। तर त्यसमा सक्रिय हुन सक्दैनन्,’ उनले भने, ‘साहेद डराएर होला। बेच्न चाँही त्यही समुदायका मानिस बेच्छन्। गुनासोे हामीकहाँ बारम्बार आइरहन्छ।’
उनी अमरगढी नगरपालिका–२ अन्र्तगतको अमरगढी पार्कमा पनि युवा तथा बालबालिकाले ठेउका खाएका प्रष्ट देख्न सकिने बताउँछन्। जिल्लामा रहेका सरोकारवाला सबैको सहयोगमा मात्रै ठेउका नियन्त्रण गर्न सकिने उनले जिकीर गरे। ‘वडामा ४०/५० रुपैयाँमा ठेउका पाइन्छ। त्यो पनि घरघरमा। घरमा जान्छन् साँझ फेरी पैसा ल्याएर अर्को खान्छन्,’ उनले भने।
सामुदायिक विद्यालयको आसपासमा रहेका सय मिटरको दुरीमा रहेका पसलमा चुरोट, सुर्ती र मदिरा बिक्रि वितरण भइरहेकोले समय समयमा प्रहरीले चेकजाँच गरिदिनु पर्नेमा उनले जोड दिए। अवैध मदिरा बिक्री वितरण रोक्न वडा र गाउँ टोलसँग समन्व्य गरेर प्रहरीले कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ।