डडेल्धुराः नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) डडेल्धुरा बहुमुखी क्याम्पस कमिटीले क्याम्पसलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
मंगलबार अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्रमुख गंगादत्त उप्रेतीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। यस क्याम्पसलाई नमूना क्याम्पस बनाउनका लागि अनेरास्ववियुले विभिन्न माध्यमबाट क्याम्पस प्रसाशन र सम्बन्धित निकायको बेलाबेलामा ध्यानाकर्षण गराउँदै आएको कमिटीका संयोजक रोशन भट्टले बताए। सोही क्रममा मंगलबार १० वटा मागसहितको ध्यानाकर्षणपत्र बुझाइएको उनले जानकारी दिए।
शिक्षक, कर्मचारी र विद्यार्थीको पोषक र परिचयपत्र नियमित गराउनुपर्ने, क्याम्पसका शैक्षिक तथा प्रसाशनिक गतिविधि तथा काम कारबाही तोकिएको कक्षबाट सञ्चालन गर्नुपर्ने माग अनेरास्ववियु क्याम्पस कमिटीले राखेको छ।
यस्तै, विद्यार्थीको समस्यालाई मध्यनजर गरी क्याम्पसमा सञ्चालित एमएड, बीबीएस, बीए, बीआइटी विधामा भर्ना सुचारु गरी दक्ष प्रध्यापकहरूबाट नियमित कक्ष सञ्चालन गर्नुपर्ने, विपन्न आर्थिक अवस्था कमजोर भएका डडेल्धुरा जिल्ला बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि व्यवस्थित छात्राबासको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ।
यसैगरी आइटी विषयको पठनपाठन हुँदै आएको भएतापनि पढाइ हुने कक्षहरू प्रविधिमैत्री नभएकाले प्रविधिको प्रयोग गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने, क्याम्पसका शैक्षिक, प्रशासनिक, आर्थिक एवं भौतिक प्रगतिको यथार्त विवरणसहित सरोकारवालाहरूको उपस्थितिमा सार्वजनिक सुनुवाई गर्नुपर्ने माग आफूहरूले राखेको अनेरास्ववियु क्याम्पस कमिटीका संयोजक भट्टले बताए।
उनका अनुसार क्याम्पसमा कार्यरत योग्य शिक्षकहरूको सरुवा गरी पदियान नभएका व्यक्तिबाट गरिँदै आएको पठनपाठन बन्द गर्नुपर्ने, त्रिविबाट क्याम्पसमा सञ्चालित सम्पूर्ण परीक्षाहरू मर्यादित तवरमा सञ्चालन गर्नुपर्ने माग अघि सारिएको छ।
यसका साथै संविधानको मौलिक हकअन्तर्गत धारा ४० मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रावृतिसहित निःशुल्क गरिनेछ भन्ने व्यवस्थाअनुसार क्याम्पसमा भर्ना भएका र भर्ना हुन आउने उक्त समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न अनेरास्ववियुले माग गरेको छ।
ध्यानाकर्षणपत्र