Radio Unity 92.2MHz

डडेल्धुरामा अपराधिक क्रियाकलापमा कमी आउँदै

प्रहरीको सक्रियता बढ्दै

डडेल्धुरा: डडेल्धुरामा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप अपराधिक क्रियाकलापमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अपराधिक घटना घट्दै गएको तथ्यांक प्रस्तुत भएको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएको तथ्यांक प्रस्तुत गरेका हुन्।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा अपराधिक क्रियाकलाप घट्दै गएका छन्। आर्थिक वर्ष २०७७/७८ मा १२८ वटा घटनाहरू घटेका थिए। आर्थिक वर्ष २०७८/८९ मा १०७ अपराधिक क्रियाकलाप भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा ९९ वटा अपराधिक क्रियाकलाप भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या २६ जना रहेको छ। यस्तै, सार्वजनिक शान्ति विरुद्धको कसूरका १७, भवितव्य ज्यानका १३, लागुऔषधका ८, सवारी ज्यान र बिष खाएका ४/४, कर्तव्य ज्यान, जबरजस्तीकरणी र बालयौन दुराचारका ३/३ वटा मुद्दा दर्ता भएको डीएसपी भट्टले बताए।

प्रहरीको सक्रियताले अघिल्ला वर्षहरूमा भन्दा गत आर्थिक वर्षमा हरेक प्रकारका घटनामा कमी आएको उनको भनाइ छ। गत आर्थिक वर्षमा जिल्लामा ३.०७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए। उनका अनुसार जिल्लामा ८ किलो पाँच सय ग्राम लागुऔषध चरेस बरामद गरिएको छ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम तथा लागुऔषधविरुद्ध विभिन्न सचेतामूलक कार्यक्रम गरिएको बताए। सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लास्थिति सरोकारवालाहरूले अपराधिक क्रियाकलापहरूलाई न्यूनीकरण गर्न सबै पक्ष मिलेर अघि बढ्नपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका सहभागीहरूले अपराधिक क्रियाकलाप तथा समाजमा घट्ने अन्य घटनामा प्रहरी चनाखो भएर लाग्नुपर्ने सुझाव दिएका थिए। प्रहरीले नागरिकसँग गर्ने आफ्नो व्यवहारलाई सुधार गर्दै लैजानुपर्नेमा धारण कार्यक्रममा राखिएको थियो । अधिकांशले डडेल्धुरा प्रहरीले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पनि प्रहरी नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा थप उत्कृष्ट काम गर्न सुझाव दिए। उनले सबैले एकजुट भएर लागेमा समाज हुने अपराधिक क्रियाकलापहरू विस्तारै घट्दै जाने बताए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले समाजमा घरेलु हिंसाका घटनाहरू भइरहेने हुँदा त्यसको न्यूनीकरण गर्न सबैले लाग्नुपर्ने बताइन् । यसका साथै उनले लागुऔषध, जुवातास न्यूनीकरणमा पनि सबैले ध्यान दिनुपर्ने औंल्याइन् । उनले प्रहरी चाल्ने हरेक अभियानमा साथसहयोग गर्न आफू तत्पर रहेको बताइन्।

फरक प्रसंगमा बोल्दै प्रदेशसभा सदस्य खड्काले जिल्लाको विकास नहुनुको कारण खोज्नुपर्ने बताइन्। ‘जिल्लाको विकास नहुनुको कारण खोज्नुपर्छ। बजेट पारदर्शिता हुनु आवश्यक छ’, उनले भनिन्, ‘जनप्रतिनिधिप्रति नागरिक खबरदारी जरुरी छ। भ्रष्टाचार न्यूनीकरण गर्न तर्फ सबैको ध्यान जानुपर्दछ।’

डीएसपीले भट्ट प्रहरीको आचरण र व्यवहारलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए। ‘मैले सेवाग्राहीहरूलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्न प्रहरी कर्मचारी र अधिकारीहरूलाई निर्देशन दिएको छ’, उनले भने, ‘आगामी दिनमा हामी प्रहरीको व्यवहारलाई सुधार गर्दै जानेछौँ।’

सम्बन्धित पाेष्टहरु
Loading...