Radio Unity 92.2MHz

बैतडीमा छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

बैतडी : महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन्।

अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिए। किशोरीका बुवा रोजगारीका लागि भारतमा छन्।

छाउपडी कानुन कागजमै सीमित

छाउपडी प्रथा उन्मुलन गर्न कानुन बने पनि सुदूरपश्चिममा उक्त कानुन बारे गाउँ समाज बेखबर रहेको पाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहार सम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ ।

सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडा बापत मनासिब क्षतिपूर्ति भराई दिनु पर्ने व्यवस्थासमेत रहेको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...