डडेल्धुरा: गएराति परेको भारी वर्षापछि आएको बाढीपहिरोले डडेल्धुराको भित्रीमधेसका विभिन्न ठाउँमा क्षति गरेको छ। बाढीपहिरोले भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाकाका विभिन्न क्षेत्रमा क्षति गरेको हो।
वर्षाले आलितालको गोदाम–बाहिरीसैन जोड्ने मोटरेबल पुलमा क्षति गरेको छ। अविरल वर्षाले सुनखोलामा आएको बाढीले मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको हो। अहिले ठूला सवारी आवतजावत अवरुद्ध छन्।
भित्रमधेस क्षेत्रलाई जोड्ने बुडर–जोगबुडा सडक खण्डको सुनखोलामा पनि पहिरो आउँदा सडक अवरुद्ध भएको छ। जसले गर्दा जिल्लाकै आधा जति जनसंख्या रहेको भित्रीमधेस क्षेत्रमा सडक सञ्जाल टुटेको छ।
आलिताल गाउँपालिका–८ कै भंग्रेरी खोलामा पनि सडक अवरुद्ध भएको छ। आलिताल– ४ को जालटुडाँमा पनि खोलाले सडक अवरुद्ध गरेको जनाइएको छ। वर्षाका कारण आलितालको घुम्ती बजारका केही घरहरू पनि जोखिममा परेका छन्। माथिबाट आएको सुनखोलाले बस्तीलाई जोखिममा पारेको हो।
आलिताल गाउँपालिका–७ पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ। गएरातिको वर्षाले गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलामा बाढी आउँदा डाइनी गाउँ उच्च जोखिममा रहेको महादेव माविका शिक्षक रमेश बोहराले बताए। यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेका छन्।
आलिताल–६ मा पनि गोठ भत्किँदा पशुचौपाया पुरिएर मरेका छन्। मंगलबार राति परेको अविरल वर्षाका कारण आलिताल–६ असलाडीका मोतिराम कुँवरको गोठ भत्किँदा एक हल गोरु, एकगाई र एक बाच्छो पुरिएर मरेका हुन्। यसैगरी पहिरोले पालिकाभित्रका शाखा सडकहरू अवरुद्ध भएका छन्।
यस्तै, परशुराम नगरपालिका–१० बेल्डाङीका चन्द्रबहादुर बोहरा र इश्वरी बोहराको घर बाढीपहिराले जोखिममा पारेको छ। परशुराम–९ गाइबाधे बझाङीजाला उदासिपुरमा नाउला खोलाले खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष देवबहादुर बोहराले जानकारी दिए।
सानाठूला पहिरोले परशुराम नगरपालिकाभित्रका ग्रामीण सडकहरू अवरुद्ध रहेको स्थानीय भूपेन्द्र धामीले बताए। ‘पुन्तुरा खोला उर्लेर आएको छ। केही ठाउँमा तटबन्ध भत्काएको छ’, उनले भने, ‘सडकहरू अवरुद्ध छन्। डोजर लगाएर सडक सञ्चालनमा ल्यान नगरपालिकाले ध्यान दिनुपर्छ।’
बाढीले परशुराम नगरपालिका–६ सरगौडा सिमलखेतमा बस्ती जोगाउनका लागि सिँचाइ कार्यालय डडेल्धुराले निर्माण गरेको तारजाली तटबन्धमा क्षति गरेको छ। सिँचाइ कार्यालयले कमसल रूपमा असारमसान्तमा निर्माण गरेका तारजालीसहित तटबन्धमा क्षति गरेको गरेको धामीले बताए। ‘बजेट सक्ने गरी असारको महिना यहाँ काम गरिएछ’, उनले भने, ‘अहिलेको बाढीले बस्ती जोगाउन लगाइएका तारजालीहरू बगाइदियो।’
त्यस्तै, बाढीले सादनी खोलामा लगाइएको तटबन्ध पनि भत्काएको छ। परशुराम ६ कै करालीमा रहेको कसानखोला उर्लेर आउँदा करालीकी देवकी जाग्री खोला तर्न नसकेर रातभर जंगलमै बसेकी थिइन्।
बिहान खोला कम भएपछि घर गएको धामीले जानकारी दिए। उनका अनुसार पुन्तुरा खोला उर्लिएका आएको हुँदा सादनी, चन्दनी, कुणाबाट जोगबुडा र डडेल्धुरा आउने गाडी परशुराम–६ को सरगौडामै थन्किएका छन्। एसईई ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरू पुन्तुरा खोलामा पुल नहुँदा जोखिम मोलेर तर्न बाध्य छन्।
यसैगरी पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार गरिएको छ। मंगलबार साँझ ६ बजेदेखि खोलाको टापुमा फसेका परशुराम नगरपालिक–४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको हो। उनीहरूको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीय युवाहरू खटिएका थिए।