डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकामा अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एण्ड वायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट’ सञ्चालनमा ल्याएको छैन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि ज्ञान केन्द्र डडेल्धुराबाट अनुदान रकम लिएर पनि प्राविधिक कारण देखाउँदै एग्रो फार्मले प्लान्ट सञ्चालनमा नल्याएको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक स्विकृत कार्यक्रम अनुसार डडेल्धुराको अमरगढी नगरपालिकामा जैविक विषादी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न स्वस्तिक हाइटेक एण्ड वायोटेक एग्रो फार्मकी प्रवन्धक सृजना जोशीले २५ लाख रूपैया अनुदान पाइन्।
उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाइन्। सृजना नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीकी श्रीमति हुन्।
६ असार २०७६ मा एग्रो फार्मसँग सम्झौता गरेको ज्ञान केन्द्रले प्राविधिक भक्तबहादुर पानले सम्झौता बमोजिमका सामग्रीहरू ल्याव भित्र खरिद गरी ल्याएको र कार्य सञ्चालन गरेको देखिएको प्रतिवेदन बुझाएपछि तत्कालिन ज्ञान केन्द्र प्रमुख दिलबहादुर बिष्टले एकै किस्तामा पूरै भुक्तानी दिए।
तर, यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आयो।
यो कुरा प्रदेशको सार्वजनिक लेखा समितिसम्मै पुग्यो। तत्कालिन लेखा समिति संयोजक कुमारी नन्दा वमको नेतृत्वको टीमले स्थलगत अनुगमन समेत गर्यो।
खरिद गरिएका कतिपय सामग्री नभएको भएका सामग्री बिक्री गर्न शो रूममा प्याकिङ गरेर राखेको र बिलहरूमा समेत अनियमितता रहेको र बदमासी गरेको पाइएको देखायो।
प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनपछि ज्ञान केन्द्रले पनि सो एग्रोको अनुगमन गरेको थियो। महालेखा परिक्षणको कार्यालयले पनि यसलाई सैद्धान्तिक बेरूजुका रूपमा राखेको छ।
असोजसम्म सञ्चालनमा ल्याउँछौं : जोशी
एग्रो फार्मका सञ्चालक रमेश जोशीे भने लेखाको प्रतिवेदन स्विकार गर्न तयार छैनन्। लेखा समितिको टीमले स्थलगत अनुगमन गर्दा जैविक विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमै रहेको जोशीको दाबी छ।
‘बिलमा अनियमितता हामलाई थाहा छैन्। किनकि जत्तिको सामन हो त्यत्तिको बिल भुक्तानीको लागि दिएका सक्कली बिल नै अफिसमा छन्। त्यो रिपोर्ट लिँदा पनि हुन्छ,’ उनले भने, ‘भुक्तानी लिँदा पनि दुई चरणमा लिने नम्स रहेछ। असारको सुरुमा सम्झौता भएको र अन्तमा सञ्चालन गरिसक्नु पर्ने भनेर निर्देशन थियो। समान नपुगि कनै भुक्तानी नहुने कारणले एकै पटक भुक्तानी भएको हो।’
सार्वजनिक लेखा समितिले स्थलगत अनुगमन गरेको उनी बताउँछन्। लेखा समितिको अनुगमनका क्रममा विषादी उत्पादन भइरहेको जोशी जिकीर गर्छन्।
‘लेखा समितिले फोटो पनि खिचेर जानु भएको हो। सामग्री पनि पूरै थियो। तर, उत्पादन गरेको कुनै कुनै विषादीमा डेट नलेखिएको देखिएको थियो। त्यो हाम्रो कमजोरी हो,’ उनले भने।
उनले सृजनाले ल्याव सञ्चालन गर्ने गरेको र उनी फागुनदेखी बिरामी रहेको ल्याव सञ्चालनमा आउन नसकेको बताए। उनी एउटा प्राविधिक राखेर असोजसम्म सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउँछन्।
‘जैविक विषादी उत्पादन गर्ने कन्सेप्टमा आएपनि कृषि ज्ञान केन्द्रबाट अनुमति लिएर बजारमा बिक्री हुन सक्ने खालको मल विषादी र च्याउको वीउ असोजसम्म नयाँ तरीकाले सञ्चालन गर्न हामी अग्रसर छौं,’ उनले भने।
सुदूरपश्चिमका ९ वटै जिल्लालाई मध्येनजर गर्दै जैविक विषादी उत्पादन गर्नु पर्ने फार्मले अमरगढी नगरपालिका–७ मा प्लान्ट स्थापना गर्नु पर्ने भएपनि अहिलेसम्म गरेको छैन्।
अनुदान पाएको चार वर्ष हुँदासम्म अमरगढी नगरपालिका–५ को बागबजारमा एउटा कोठामा सामग्री राखिएको छ।
के भन्छन् त ज्ञान केन्द्र प्रमुख भट्ट ?
कृषि ज्ञान केन्द्रले पनि पटकपटक ल्याव सञ्चालन गर्न पत्राचार गरिरहेको जनाएको छ।
ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले यो कार्यक्रम आफू ज्ञान केन्द्र प्रमुख भएर आउनुभन्दा अगाडिको रहेको जानकारी दिए।
‘मलेपको प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले केही कुरा लेखेको र हामीलाई अनुगमनका लागि निर्देशन प्राप्त भयो। ज्ञान केन्द्रले एक जना अधिकृतको सयोजकत्वमा अनुगमन गर्यो र प्रतिवेदन बुझायो,’ उनले भने, ‘त्यसपछि लेखा समितिको टीम आएर अनुगमन गर्यो। त्यो समयमा सञ्चालकले सबै कुरा देखाएको अवस्था हो। ल्याव सञ्चालन गरेर उत्पादन गरेको पनि हामीले देख्यौं।’
भट्टले बजारीकरणमा समस्या देखिएपछि जैविक विषादीले छिटै परिणाम दिने किसीमको नभएकोले सञ्चालकले बीचमा रोकेको जानकारी आएको बताए।
‘बेलाबेलामा फलोअप गर्दा सञ्चालन गर्छु। फेरी उत्पादन गर्छु। र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दिनुपर्छ भनेका छन्। र, उहाँले निकट भविष्यमै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।’