Radio Unity 92.2MHz

डडेल्धुरामा एक प्रहरीले चार सय नागरिकलाई सुरक्षा दिँदै

डडेल्धुराः जिल्लामा एक प्रहरीले चार सय नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था छ। जिल्लाको जनसंख्याअनुसार एक प्रहरीले चार सय नागरिकको सुरक्षा दिनुपर्ने अवस्था रहेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ४ सय जना प्रहरीको दरबन्दी रहेको भएपनि अहिले ३ सय ५० को हाराहारीमा मात्रै रहेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

‘पालिका,  वडा कार्यालय तथा दुर्गम भएको ठाउँमा अस्थायी प्रहरी पोष्टको डिमान्ड एकदम धेरै छ। विपद्को समयमा कतिपय ठाउँमा जान तीनचार घण्टा लाग्छ। र, अस्थायी प्रहरी पोष्ट राख्नु पर्ने आवश्यकता पनि छ। तर, मेनपावरको समस्या भएर अहिले राख्न नसकेको अवस्था छ,’ उनले भने।

जिल्लामा १६ वटा प्रहरी चौकी, ९ वटा अस्थायी प्रहरी पोष्ट, ५ वटा प्रहरी पोष्ट, २ वटा ट्राफिक प्रहरी पोष्ट र ३९ वटा प्रहरी युनिट रहेको कार्यालयले जनाएको छ। दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन्।

जिल्ला तथ्याङ्क कार्यालय डडेल्धुराको २०७८ सालको जनगणना अनुसार जिल्लामा कुल जनसंख्या एक लाख ३९ हजार ४ सय २० रहेको छ। जसमा ६५ हजार ९ सय ३० पुरुष र ७३ हजार ९ सय ९० महिला रहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...