डडेल्धुरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैजी–जोगबुढा सडक सञ्चालन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई फोन गरेर सडक पुनर्निर्माण र दैजी–जोगबुढा सडक सञ्चालनमा आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।
सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाट ‘सरल’, नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका उपाध्यक्ष मानसिंह माल ‘क्रान्ति’ लगायतको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेको थियो।
त्यसक्रममा सुदूरपश्चिममा अत्यधिक वर्षाका कारण आएको पहिरो र बाढीले पुर्याएको क्षतिबारे तथा भीमदत्त राजमार्गमा भएको सडक अवरुद्धका बारेमा प्रधानमन्त्रीसँग गम्भीर छलफल भएका प्रदेशसभा सदस्य भाटले बताए।
‘वैकल्पिक मार्गको रूपमा दैजी जोगबुढा सडक सञ्चालन गर्न सक्ने सम्बन्धमा समेत छलफल भएको छ,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भौतिक सचिवलाई फोन गरेर सडक पुनर्निर्माण र दैजी जोगबुढा सडक सञ्चालन सम्बधमा आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको छ। त्यसैगरी बाढी प्रभावित क्षेत्रमा यथाशीघ्र कार्य अगाडि बढाउन निर्देशन गर्नुभएको छ।’
कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने दैजी–जोगबुढा सडक सञ्चालन गर्न अहिले चौतर्फी दबाब बढेको छ।