- केशव भण्डारी
डडेल्धुराः आज डडेल्धुरा सहित सुदूरपश्चिममा ‘ओल्के’ पर्व मनाइँदै छ। पिँडालुको कलिलो पात,दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकी हरुलाई बाँडेर यो पर्व मनाउने गरिन्छ।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने चलन रहेको छ ।
शदियौंदेखि मनाइँदै आएको यो चाडलाई पछिल्लो पुस्ताले प्राथमिकता दिन छाडेको र यसका स्थानिय सरकाले ध्यान दिनु पर्ने डडेल्धुराको भागेश्वोर ५ चुल्लका स्थानीय अनुमोल बोहरा बताउँछन् ।
ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। जसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ।
यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास रहेको भागेश्वार ४ का स्थानिय डम्बर बिष्टले बताए।
ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज (शुक्रबार)सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।