Radio Unity 92.2MHz

पर्यटक पर्खिरहेको आलितालको मनमोहक ‘जैसिना झरना’ [फोटो फिचर]

  • प्रकाश पार्की

डडेल्धरा: डडेल्धराको आलिताल गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको पालिका हो। यहाँका पर्यटकीय स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटक पर्खिरहेका छन्।

आलिताल गाउँपालिका–१ स्थित मनमोहक जैसिना झरना पनि पर्यटकको पर्खाइमा रहेको छ। जहाँ दुईवटा झरना रहेका छन्। जैसिना झरनाको मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पर्यटकको पनि मनलोभ्याउने छ।

करिब २ सय मिटर लामो यस झरनाले पर्यटकलाई मोहित बनाउँछ। झरना रहेको ठाउँमा चराचुरुङ्गीहरूको बाक्लो उपस्थिति रहन्छ। जैसिना झरना हरियाली वनजंगलको बीचमा छ। झरनासँग चितुवा, रतुवा, घोरल, बँदेलजस्ता जंगली जनावर र कालिज, तित्रालगायतका पन्छीहरूको पनि दृश्यावलोकन गर्न सकिन्छ।

यस झरनासम्म पुग्नका लागि डडेल्धुरा सदरमुकामदेखि स्याउले–गैरा हुँदै गोगनपानी बजारसम्मको करिब ४० किमी पक्की सडकको यात्रा गर्नुपर्ने हुन्छ। गोगनपानीबाट पनि ७ किमी जति ग्रामीण कच्ची सडकको यात्रा र करिब ३० मिनेटको पैदलयात्रापछि मात्रै मनै लाभ्याउने जैसिना झरनासम्म पुग्न सकिन्छ। झरनाभन्दा एक किलोमिटर अगाडिसम्म सडक पुगेको छ। जहाँसम्म मोटरसाइकल, जिप र कार पुग्छन्।

गोगनपानीबाट एकदेखि डेढ घन्टामा हिँडेर पनि यस झरनासम्म पुग्न सकिन्छ। स्थानीय गाउँको नामबाट यस झरनाको नाम जैसिना झरना रहन गएको स्थानीय गोरखबहादुर पुनले बताए। उनका अनुसार जैसिना भन्ने गाउँबाट बगेर आएको पानी तल आएर झरना बनेपछि जैसिना झरना भन्ने गरिएको हो।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गइरहेको छ। तर प्रचारप्रसारको कमिले अझै पनि जैसिना झरनाले पर्यटक पर्खिरहेको छ।

स्थानीय तहमा जनप्रतिनिधि नआउँदासम्म यस झरनाको त्यति धेरै प्रचारप्रसार र संरक्षण भएको थिएन। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि भने झरनासम्म पुग्नको लागि सडक बनाइएको छ। गाउँपालिकाले पनि यसको संरक्षण र प्रचारप्रसारमा ध्यान दिएको छ।

झरना घुम्न आउने पर्यटकको सहजताका लागि गत आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिएको आलिताल–१ का वडाध्यक्ष यज्ञबहादुर देउवाले बताए। उनका अनुसार १५ लाखको लागतमा पदमार्ग निर्माण भएपछि पर्यटकहरूलाई झरनाको फेदसम्म पुगेर अवलोकन गर्ने वातावरण बनेको छ।

वडाध्यक्ष देउवाले झरना अवलोकन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गरिदिन आग्रह गरे। यसका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको खान र बसोबासका लागि झरना नजिकै एउटा रिसोर्ट खोल्ने योजना जनप्रतिनिधिको छ।

    

तस्वीर: प्रकाश बम ठकुरी

सम्बन्धित पाेष्टहरु
Loading...