Radio Unity 92.2MHz

गौरा देबीलाई धार्मिक अनुष्ठानका साथ गौरा घरमा भित्र्याइदै

  • केशव भण्डारी

डडेल्धुराः आज गौरा देबीलाई धार्मिक अनुष्ठानका साथ गौरा घरमा भित्र्याइदै छ। व्रत बसेका महिलाले सामूहिकरुपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याउने गरिन्छ।

हिन्दु महिला नजिकैको खेतमा गएर तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन्। भाद्र पञ्चमीतिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँच थरीका गेँडागुडीअर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्वको औपचारिकरूपमा सुरु भएको मानिन्छ ।

‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । सप्तमी तथा अष्ठमीका दिन गौरी र महेश्वरको महिलाद्वारा सामूहिकरुपमा पूजा गरिन्छ । पूजा गर्नु अघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरुपमा पँधेरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ। यसलाई ‘नोलाइ’ गौरा भनिन्छ। पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गेँडागुडी) को विशेष महत्व रहेको सँस्कृतिका जानकार देबेन्द्र मल्ल ले बताए।

‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा छ। पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ।

पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर मनाउने गरेको अजयमेरु गा.पा. ६ नेउलीकी स्थननिय लक्ष्मी पन्तले बताइन्। चैत र धमारीसम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक तथा सांस्कृतिकरुपमा महत्वपूर्णस्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्व दर्शाउने गरेको पाइन्छ ।

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ । यसै पर्वदेखि विवाहिता हिन्दु महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुव–धागो’ आ–आफ्नो घाँटीमा धारण गर्ने चलन छ । यो दुव–धागो गौरादेवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्ने गर्दछन्।

यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कुशासनविरुद्ध देउडा खेलका माध्यमबाट तिखो व्यङ्ग गरिने हुँदा यसले समाजलाई सही बाटोमा डोर्‍याउन मद्दत पुर्‍याउने भागेश्वार ५ चुल्लका स्थानिय देउडा गायक केशब पाण्डेयले बताए।

अनुकूल तिथि र साइत हेरेर दिन यो पर्व विसर्जन गरिन्छ। पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएको सम्झनामा सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको धार्मिक ग्रन्थमा उल्लेख रहेका छ। अरु बर्ष शुदूरपश्चिम भरी एकै तिथीमा गौरा पर्व मनाइने भए पनी यो वर्ष भने भदौ ७ गते र भदौ २१ गते मनाइदै छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।