Radio Unity 92.2MHz

भारतीय मिडिया लेख्छन् : सन्दिपले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्

डडेल्धुराः  क्रिकेट फ्यानहरुको प्रतिक्षा अब समाप्त हुँदैछ। एसिया कप २०२३ आज (अगस्ट ३०) नेपाल र पाकिस्तानबीचको खेलबाट सुरु हुँदैछ।

एकातिर पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ भने अर्कोतर्फ पहिलो पटक एसिया कप खेल्दै नेपालको नयाँ नयाँ टोली छ।

तुलनात्मक रूपमा नेपाल कमजोर टोली मानिएपनि यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ। स्टार क्रिकेटरले भरिपूर्ण रहेको पाकिस्तानी टोली झै नेपालमा पनि केही स्टार खेलाडी रहेका छन्।

अहिले भारतीय मिडियाले पनि नेपाली खेलाडीलाई स्थान दिइरहेका छन्। भारतीय मिडिया ‘आज तक’ ले नेपाली खेलाडीको प्रशंसा गर्दे समाचार बनाएको छ।

उसले नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानी ब्याट्सम्यानलाई घुँडा टेकाउन सक्छन् भन्दै  समाचार बनाएको छ।

आज तकले लेखेको छ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेपालका स्टार स्पिनर रहेको र उनले आईपीएलमा दिल्ली क्यापिटल्स (डिसी) बाट पनि खेलिसकेका छन्।

२३ वर्षीय सन्दीप लामिछानेको एकदिवसीय क्रिकेटमा निकै प्रभावशाली कीर्तिमान छ। अर्कोतर्फ पाकिस्तानी टोली स्पिनरका अगाडि कमजोर देखिन्छ।

अफगानिस्तानविरुद्ध हालै खेलेको ३ खेलको एकदिवसीय शृंखलामा पाकिस्तानी टोलीको अवस्था नाजुक भएको यसबाट अनुमान लगाउन सकिन्छ।

टोलीले स्पिनरको अगाडि २८ विकेटमध्ये १३ विकेट गुमाएको थियो। यस्तो अवस्थामा पाकिस्तानी ब्याट्सम्यानलाई आफ्नो स्पिनमा फसाउन सन्दीपलाई गाह्रो हुने छैन। उनी पाकिस्तानी टोलीका लागि खतरा बन्न सक्छन्।

सन्दीपको अन्तर्राष्ट्रिय करियर
सन्दीपले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए। उनले हालसम्म ४९ ओडीआई खेलेका छन्।

जसमा उनले १७.२५ को औसत र ४.२७ को इकोनोमीमा १११ विकेट लिएका छन्। यस क्रममा सन्दीपले पनि १४.६८ को औसतमा ३६७ रन बनाएका छन्।

सन्दीपले टी–२० ढाँचामा ४४ खेल खेलेका छन । जसमा उनले १२.५६ को औसत र ६.४० को इकोनोमीमा ८५ विकेट लिएका छन्।

सन्दीपको नाममा रहेका कीर्तिमान
सन्दीप लामिछानेको एकदिवसीय क्रिकेटमा उत्कृष्ट बलिङ औसत १७.२५ रहेको छ। सन्दीप टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन्।

उनलाई ५० विकेट लिन २९ इनिङ्स मात्रै लागेको थियो। एक सिरिजमा सबैभन्दा बढी विकेट लिने बलरमा सन्दीप दोस्रो स्थानमा छन्।

लामिछानेले विश्वकप लिग–२ (२०१९–२०२३) मा ३१ खेल खेलेका थिए, जसमा उनले ७२ विकेट लिएका थिए।

विश्वभरका लिगमा  प्रदर्शन
सन्दीपले आईपीएल २०१८ र २०१९ सिजनमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए। उनले दुई सिजनमा ९ खेल खेलेर १३ विकेट लिए।

यस क्रममा उनको बलिङको औसत २२.४६ र इकोनोमी रेट ८.३४ थियो। सन्दीपले आईपीएल बाहेक विश्वभरका लिगहरूमा पनि आफ्नो क्षमता देखाएका छन्।

उनले बिग ब्यास लिग, सीपीएल, पीएसएल र द हन्ड्रेड जस्ता प्रतियोगिता खेलिसकेका छन्। सन्दीपले कुल १३६ टी–२० खेलमा १७.७६ को औसतमा १९३ विकेट लिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...