Radio Unity 92.2MHz

डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ सुरु, मन्त्री देउवाद्वारा उद्घाटन

डडेल्धुरा: सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८०’ सुरु भएको छ। विगतका वर्षहरू झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा गौरा महोत्सव सुरु भएको हो।

आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले पानसमा दीपप्रज्वलन गरेर महोत्सवको उद्घाटन गरेका हुन्। बसपार्क माथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा, महेश्वरलाई फाग गाउँदै महिलाहरूले बसपार्कमा बालो नाच प्रदर्शन गरेका थिए। यसका साथै चैत पनि प्रदर्शन गरिएको थियो।

मन्त्री देउवाले संस्कृतिमा सुदूरपश्चिम सबैभन्दा धनी रहेको बताए। उनले पछिल्लो समय गौरा राष्ट्रिय पर्वको रूपमामा विकास भइरहेको बताए।

गौरा पर्वले आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने उको भनाइ थियो। यसका साथै उनले सुदूरपश्चिम सरकारले परिमाण आउने गरी काम गरिरहेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले गौरा महोत्सपवले यहाँको भाषा, कला, संस्कृति जगेर्नामा ठूलो टेवा पुग्ने बताए। उनले गौरामा गाइने गीतले इतिहास झल्काउने पनि बताए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले कला संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिइन्। आ–आफ्नो ठाउँमाबाट संस्कृति जगेर्नामा सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुरा अध्यक्ष देवराज भट्टले जानकारी दिए। महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्।

उनका अनुसार महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाका देउडिया कलाकारहरू सहभागी छन्। आइतबारदेखि सुरु भएको महोत्वस गौरा देवीको धार्मिक परम्पराअनुसार भदौ २१ गते बिसर्जन गरी महोत्सवको समापन गरिनेछ।

 

 

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।