Radio Unity 92.2MHz

कप्तान रोहित भन्छन् : भारतसँग खेल्न पाउँदा उत्साहित छौं

डडेल्धुराः एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ। समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ।

नेपालले विश्व क्रिकेटको ठूलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो। दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन्।

नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ। वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहीन छ।

भारतसँग खेल्न पाउँदा उत्साहित छौं : कप्तान रोहित
नेपालका कप्तान रोहित पौडेलले टिम इन्डियाविरुद्ध खेल्न पाउँदा आफ्नो टोली उत्साहित रहेको बताएका छन्। उनले स्टार ब्याट्सम्यान विराट कोहली र रोहित शर्मासँग खेल्न पाउनु नै महत्वपूर्ण रहेको बताए।

‘सुपर–४ मा छनोट हुन खेल जित्नैपर्छ। विराट कोहली र रोहित शर्मा विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ उनले भने, ‘हामी भारतसँग खेल्न पाउँदा उत्साहित छौं। भारत ठूलो देश हो। हामी सबैभन्दा ठूलो मञ्चमा भारतविरुद्ध नेपालको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छौं।’

‘विराट र रोहित विश्वकै स्टार क्रिकेटर हुन्। हामीले उनीहरू सँग कसरी खेल्ने भन्ने योजना बनाएका छौं र आशा छ कि हामी कार्यान्वयन गर्नेछौं,’ उनले भने।

उनले विराट सबैका लागि ‘प्रेरणा’ स्रोत रहेको बताए। पहिलो खेलमा पाकिस्तानसँगको पराजयका बाबजुद पनि पौडेलले समर्थकको प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै टोलीप्रति फ्यानहरु निकै हौसला र सकारात्मक रहेको बताए।

उनले भने, ’हाम्रा खेलाडीहरूले दुई–तीन वर्षदेखि धेरै मेहनत गरिरहेका छन्। यही कारणले हामी यहाँ छौं। पछिल्ला दुई–तीन पुस्तामा हाम्रा सिनियरहरूले गरेको प्रयासले गर्दा हामीले खेल्ने अवसर पाएका छौं।’

सम्बन्धित पाेष्टहरु
Loading...