Radio Unity 92.2MHz

डडेल्धुरामा उपभोक्ताको स्वास्थ्यमाथि ‘जीएम सस’को खेलबाड : भेटियो ढुसी

डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुराका होटलमा राखिएको ससमा ढुसी भेटिएको छ। ग्रिन माउन्टेन कृषि विकास फर्म अमरगढी नगरपालिका–४ ले उत्पादन गरेको ‘जीएम सस’को सिल नखोलेको बोतल भित्र ढुसी भेटिएको हो।

सोमबार जिल्ला सदरमुकामको एक होटलमा उपभोक्ताले चाउमिनमा प्रयोग गरिरहेको ससमा ढुसी भेटीएपछि युनिटी खबरलाई खबर गरेका थिए।

हामी उक्त होटलमा पुगेर हेर्दा खोलिएका र नखोलिएको ससमा ढुुसी भेटिएको थियो। १७ मे २०२३ अर्थात् ३ जेठ २०८० मा उत्पादन मिति रहेको ‘जीएम सस’ ९ महिना प्रयोग गर्न सकिने भनिएको छ। तर, उक्त ससमा ४ महिना नपुग्दै ढुसी भेटिएको हो।

ग्रिन माउन्टेन कृषि विकास फर्मले ‘जीएम सस’मा नाममा गुणस्तहीन सस पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय रमेश अवस्थीले बताए।

उनले भने, ‘पटकपटक बजार अनुगमन भएको हुन्छ। फेरी पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेहरूको कमि भएको छैन्। अनुगमनका नाममा मात्रै अनुगमन गर्ने परिपाटीले यस्तो समस्या देखा पर्देछ।’

‘जीएम सस’का सञ्चालक टेकराज पाण्डेयले चिसोका कारणले ससमा ढुसी देखिएको बताए। ‘चिसो र कुहिरोले यस्तो समस्या आउन सक्छ। बोतल राम्रोसँग सफा नभएर पनि हुन सक्छ,’ उनले भने, ‘भेटिएको ठाउँ बारे जानकारी दिनुस् मान्छे पठाएर रिप्लेस गर्छु।’

गत साउनमा उद्योगमा अनुुगमन गर्न गएको तर उक्त समयमा उद्योग बन्द रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशकुमार रोक्काले जानकारी दिए। उनले भने, ‘हामी स्याम्पल उठाएर परीक्षणका लागि लैजान्छौं। चिसोका कारणले चाहिँ ससमा ढुसी देखिँदैन।’

सम्बन्धित पाेष्टहरु
Loading...