Radio Unity 92.2MHz

डडेल्धुरामा चारदिने अग्नी नियन्त्रण तथा उद्धार तालिम सुरु

डडेल्धुराः विपद्को जोखिम र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजना सक्रिय भएको छ। यूरोपेली आयोग मानविय सहायता विभागको आर्थिक, युएनडिपी नेपालको प्राविधिक एवं ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको साझेदारमा कार्यान्वयन भइरहेको सुपर परियोजना विपद्को जोखिम र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सक्रिय भएको हो।

सोहीअन्तर्गत डडेल्धुरा जिल्ला सदरमुकाममा चारदिने अग्नी नियन्त्रण तथा उद्धार तालिम सुरु भएको छ। रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाको अध्यक्षता र सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच चारदिने तालिमको उद्धघाटन गरिएको हो।

तालिमको उद्धघाटन गर्दै प्रदेशसभा सदस्य खड्काले विपद्को जोखिम न्यूनीकरणका लागि सक्रियता देखाएकोमा रुडुक डडेल्धुरा र अमरगढी नगरपालिकालाई धन्यवाद ज्ञापन गरिन्।

‘हाम्रो क्षेत्रमा विपद् आइहाल्यो भने त्यसले पुर्‍याउने क्षति न्यूनीकरणका लागि पर्याप्त स्रोत साधनको अभाव छ,’ प्रदेशसभा सदस्य खड्काले भनिन्, ‘विपद् पछिको अवस्थालाई सहयोग पुगाउनका लागि समुदायमा तालिमप्राप्त स्वयवमसेवक पनि छैन। रुडुकले गरिरहेको गतिविधिले विपद्को क्षति र जोखिम न्यूनीकरण गर्न अवश्य सहयोग पुगाउने छ।’

उनले विपद्को जोखिम र क्षति न्यूनीकरणका लागि नीति नै बनाएर अगाडि बढ्न अमरगढी नगरपालिकालाई आग्रह गरिन्। रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदका अनुसार चार दिने तालिममा अमरगढी नगरपालिकाको दमकल शाखाका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि तथा समुदाय तहका स्वयवमसेवकको सहभागिता रहेको छ।

घरेलु आगलागी नियन्त्रण बिधी, डेलीभरी होजको प्रयोग, भर्‍याङको प्रयोग, प्राथमिक उपचार, दमकल परिचालन लगायतका विषयमा तालिममा सहभागीलाई दक्ष बनाइने कार्यकारी निर्देशक साउँदले बताए। सुपर परियोजना अमरगढी नगरपालिका वडा नम्बर ५ र ७ मा कार्यान्वयन भइरहेको छ।

परियोजनामार्फत प्रारम्भिकद्रुत लेखाजोखा सर्वेक्षण तालिम, भुकम्पीय पूर्वतयारीबारे अभिमुखिकरण, आधारभुत प्राथमिक उपचार लगायतका विभिन्न तालिम दिएर विपद् पछिको अवस्थालाई सहयोग पुर्याउन समुदायका अगुवाहरुको क्षमता विकास गरिएको छ। यस्तै परियोजनामार्फत नै २ वडाका चार वटा भूकम्पको जोखिममा रहेका घरको प्रवलीकरण गरिएको छ भने थप चार वटा घर प्रवलीकरण गर्ने योजना रहेको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक साउँदले बताए। यस्तै परियोजनामार्फत नै जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको राहत मापदण्ड र आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार पारिएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...