डडेल्धुरा : सरकारले डडेल्धुरा अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ को ‘पाइलटिङ/डेमोन्सट्रेसन’ गर्ने भएको छ।
आइतबार जिल्ला सदरमुकामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले उक्त जानकारी दिएको हो।
हाललाई यो खोप १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका (२०६५ भाद्र ३०–२०६६ भाद्र २०) किशोरीहरूलाई लक्षित गरी दिइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए।
संघीय सरकार मातहतका सातै प्रदेशका एक/एक अस्पतालबाट १४ वर्षका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्राको एचपीभी खोप दिन लागिएको साउँद बताउँछन्।
भदौ २७ गतेदेखि डडेल्धुरा अस्पतालमा एचपीभी खोप कार्यक्रम सुरु हुने उनको भनाइ छ। निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश एचपीभी खोपलाई विस्तार गर्दै १०–१४ वर्षसम्मका सबै किशोरीलाई यो खोप लगाइने उनले जिकीर गरे।
‘यो असाध्यै महत्वपूर्ण कार्यक्रम हो। पाठेघरको मुखको क्यान्सरबाट ७५ प्रतिशत बिरामीको मृत्यु भइरहेको छ,’ उनले भने, ‘१०–१४ वर्षसम्मका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप कार्यक्रम लागू हुँदै छ।’
सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनेको थियो।
यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको भए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन।
सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो। नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा।
एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ।
प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेपनि अभियानकै रुपमा भने सरकारले यो पहिलोपटक सबैतिर विस्तारको सुरुआत गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले जानकारी दिए।
‘यो वर्ष सीमित मात्रामा २० हजार डोज भ्याक्सिन आएको छ, जुन १० हजार किशोरीलाई लगाउन मिल्छ,’ उनले भने, २०३० सम्म १५ वर्ष मूनिका ९० प्रतिशत किशोरीलाई खोप लगाउने योजना छ। मृत्युदर ३ प्रतिशतमा झार्ने लक्ष्य छ।’
पहिला आउनेलाई प्राथमिकता
जनस्वास्थ्य निरीक्षक जोशीका अनुसार डडेल्धुरामा यो खोप लगाउनुपर्ने १४ वर्ष उमेर समूहका किशोरी संख्या एक हजार सात सय २४ रहेको छ।
तर, भ्याक्सिन भने तीन सय ८२ मात्र आएको छ। उनी भन्छन्, ‘हाल यो खोप कम परिमाणमा मात्र उपलब्ध भएकाले थुप्रै चुनौती छन्। जिल्लाको जनघनत्वको आधारमा भ्याक्सिन वितरण गरिएको छ। यसमा पनि ५ प्रतिशत खेर जाने सम्भावना छ।’
सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो, डडेल्धुरा अस्पताल। त्यसैले एचपीभी खोपका लागि जुनसुकै जिल्लाका १०–१४ वर्षसम्मका किशोरी आउन सक्छन्। उनले खोप सीमित भएकोले पहिला आउनेलाई प्राथमिकता दिइने बताए।
डडेल्धुरा अस्पतालहरूबाट उपलब्ध गराइने एचपीभी खोपको पहिलो मात्रा लिनका लागि उमेर खुल्ने आधिकारिक प्रमाणपत्र/जन्मदर्ता/जन्म खुलाउने अन्य कागजात लिएर आउनु पर्ने स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन भवानी कुवँरले बताए। उनकाअनुसार दोस्रो मात्रा लिनका लागि खोपको पहिलो मात्रा लिएको खोप कार्ड साथमा लैजानुपर्नेछ।
‘किशोरीसँगै आमालाई साथमा आउन आग्रह गर्दछौं। किशोरीलाई एचपीभी खोप दिइन्छ भने आमाको क्यान्सर स्क्रिनिङ हुन्छ,’ उनले भने, सरकारको प्राथमिकताको कार्यक्रम रहेकाले हरेक महिलाले ५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने सुविधा छ। ३५ देखि ६४ वर्षका महिलामा यो समस्या बढी हुन्छ।’
एचपीभी खोप कार्यक्रम निकै प्रभावकारी रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए। उनले स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरि क्यान्सर स्क्रिनिङ सेवा सुचारु भएको स्वास्थ्य संस्था बारे जानकारी लिनु पर्नेमा जोड दिए।
खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले एचपीभी खोप कार्यक्रम निकै प्रभावकारी रहेको र त्यसमा आफ्नो तर्फबाट हुने सहयोग गर्न प्रतिवद्ध रहेको बताए।