काठमाडौंः नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण निधन भएको नेकपा एमाले जनाएको छ।
बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट मर्माहत भएको बताएका छन्।मंगलबार बिहान सामाजिक सञ्जालमा उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्।
‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन्।
यसै बिच पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु,’ उनले लेखेका छन्।