Radio Unity 92.2MHz

कार्कीले सम्हाले डडेल्धुरा प्रहरीको कमाण्ड, भन्छन्–लागुऔषध नियन्त्रण गर्छौं

डडेल्धुरा: प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कमाण्ड सम्हालेका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट सरुवा भई यहाँ आएका कार्कीले डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका हुन्।

डडेल्धुराका डीएसपी मनोहरप्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएपछि उनको स्थानमा कार्की यहाँ हाजिर भएका हुन्। आइतबारदेखि डडेल्धुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान थाल्ने बताएका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा डीएसपी कार्कीले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि आफूले विशेष ध्यान दिने बताएका हुन्।

उनले जिल्लामा हुने जुवातास नियन्त्रणमा पनि सूचना पाउने बित्तिकै एक्सन लिने उनको दाबी छ। जिल्लामा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्नमा पनि आफूले काम गर्ने उनको भनाइ छ। मादक पदर्थ सेवन गरेर गाडी चलाउने चालकलाई कानुन बमोजिम कारबाही गरिने डीएसपी कार्कीले बताए।

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बनाए। आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै डीएसपी कार्कीले सबैलाई साथ र सहयोग गर्न आग्रह गरे।

‘मादक पदर्थ सेवन गरेर गाडी चलाउने कानुन अनुसार कारबाही गर्छौं। जुवातास नियन्त्रणमा पनि ध्यान दिन्छौं। लागुऔषध नियन्त्रणमा विशेष अभियान थाल्छौँ,’ उनले भने,‘ म अनुसन्धान गर्नमा रूचि राख्छु। म जानीजानी गल्ती गर्दैन। सबैको सहयोगको अपेक्षा गरेका छु।’

जिल्लामा अटो व्यवस्थापन पनि पनि प्रहरीले ध्यान दिने उनको भनाइ थियो। डीएसपी कार्कीले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

जिल्लास्थित पत्रकारहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए। पत्रकारहरूले जुवातास, ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी कार्कीलाई आग्रह गरेका थिए।

सामाजमा घट्ने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नमा प्रहरीलाई पत्रकारहरू पनि सहयोग र सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिहंले बताए। मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको उनको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...