डडेल्धुरा: डडेल्धुरा अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरिएको छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो।
विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप लगाउन थालिएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोषकुमार गुप्ताले जानकारी दिए।
सो खोप छ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ। यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको चिकित्सकहरू बताउँछन्।
पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने डा.गुप्ताले बताए। सरकारले चीनसँग २० हजार भाइल एचपीभीविरुद्धको खोप खरिद गरेको थियो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता प्रदान गरेको खोप हो।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । जस अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ।