डडेल्धरा: डडेल्धराको आलिताल गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवनको शिलान्यास गरिएको छ। गाउँपालिका–५ स्थित पालिका परिसर भीमदत्तपुरमा दुई तले भवनको शिलान्यास गरिएको हो।
विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको ग्रामीण तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडर कार्यालय डडेल्धुराले ठेक्का प्रक्रियामार्फत् सो भवनको निर्माण सम्झौता गरेको छ।
बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र रिड कार्यालय डडेल्धुराका प्रमुख द्रोणबहादुर बुढाथोकीले भवनको शिलान्यास गरेका हुन् । किसानलाई कृषि र भेटेरीनरीका सेवाहरू दिने उद्देश्यले भवन निर्माण थालिएको रिड कार्यालय डडेल्धुराका प्रमुख बुढाथोकीले बताए।
उक्त भवनबाट ल्याबसहितका सेवाहरू दिन सकिने उनले बताए। उनका अनुसार केन्द्रमार्फत् कृषि तथा पशुका कार्यक्रमहरू, बालीका कार्यक्रमहरू तथा किसानहरूसँग प्रत्यक्ष जोडिएका कार्यक्रम सञ्चालन गरिनेछन्। रिड कार्यालयले काठमाडौंको सिनर्जी विल्डर्स प्रालिसँग एकवर्ष भित्र उक्त भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ। उक्त भवन २ करोड ३५ लाख ५४ हजार ७ सय १४ रुपैयाँको लागतमा बन्नेछ ।
सुदूरपश्चिममा आयोजना लागू रहेका १७ पालिकामध्ये १० पालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन बनिरहेका छन्। महाकाली राजमार्ग करिडोरअन्तर्गतका जिल्लाहरू कैलाली, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलाका गरी १७ वटा स्थानीय तहमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत पाँचवर्ष अवधिको लागि उक्त आयोजना लागू छ।
ग्रामीण उत्पादक समूहलाई बजार पहुँचका लागि बजार सुदृढिकरण, उद्यमशील वातावरणको निर्माण र कोभिडि–१९ बाट सिर्जित परिस्थितिको पुनःस्थापना लागि रोजगारीका अवसरहरूको सिर्जना गर्ने आयोजनाको उद्देश्य छ।