Radio Unity 92.2MHz

व्यवहारिक शिक्षाको अनुपम नमूना : चीनको साँग्रिला किन्डरगार्टेन

  • उत्तर बिष्ट

विद्यालय भन्ने बितिक्कै शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने स्थलको रुपमा बुझिन्छ। तर चीनका केही विद्यालयमा विद्यार्थीहरु आफैँ सिकाई र बुझाई प्रक्रियामा स्वतस्फूर्त तवरले सहभागी हुन थालेका छन्।

चीनको सिचुआन् प्रान्तको डोच्याङ काउन्टीमा रहेको साङ्ग्रीला द्विभाषीय कन्डरगार्टेन (शिशु विद्यालय) का विद्यार्थीहरु व्यवहारिक अध्यनमा रमाइरहेको दृश्य देख्न सकिन्छ।

बालिबालिकालाई माटोका भाँडा बनाउनेदेखि रङ्गाउने सीप, विभिन्न परिकार बनाउने, आर्ट, खेलकुदका गतिविधिसँगै जोडेर दिइएको व्यवहारिक शिक्षाले उनीहरुको सिकाई र बुझाईको स्तर समग्रभन्दा उच्च पाइएको छ।

औपचारिक शिक्षाअन्तर्गत विभिन्न किसिमका प्रयोगात्मक कक्षामार्फत् सिकाउँदै शिशु कक्षादेखि नै बालबालिकालाई उत्पादनसँग जोड्ने गरिएको विद्यालयले जनाएको छ।

पाठ्यपुस्तकका कोरा ज्ञान र सिद्धान्त बाहेक यहाँका विद्यालयको पाठ्यक्रममा नै स्थानीय आवश्यकता उल्लेख गरिएको छ। सोही आधारमा विद्यार्थीहरुलाई पठनपाठन गराइएको विद्यालयकी प्रशिक्षक जेरिनले जानकारी दिइन्।

विद्यालय उमेरका बालबालिकालाई स्थानीय वातावरणसँग घुलमिल गराउन विद्यालयमा विद्यार्थीका लागि उपयुक्त वातावरण निर्माण गरिएको छ। शिशु कक्षाका विद्यार्थीलाईसमेत प्रयोगात्मक, खेलकुद, मनोरञ्जनदेखि स्मार्टबोर्ड मार्फत् अध्यापन गराइएको छ।

कक्षा कोठामा सबै विद्यार्थीलाई समान अवसर र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै जीवनउपयोगी कक्षाहरुमा संलग्न गराएको सहजै देखिन्छ।

उनीहरुलाई वाह्य वातावरणसँंग घुलमिलका लागि विद्यालयमा खुला चौर तथा विभिन्न परिवेश झल्काइएका छुट्टै खेल मैदान निर्माण गरिएको छ।  पर्याप्त मात्रामा राखिएका विभिन्न किसिमका खेल सामाग्रीले खेल मैदानको उपादेयता र औचित्य स्वतः पुष्टि भएको छ।

विद्यालयमा माटोका भाँडाहरु बनाउन सिकाइन्छ। बालबालिकाहरु पनि माटो मुछ्नेदेखि विभिन्न आकारका भाँडा बनाउने सीप निकै खुशीका साथ सिक्न निकै आतुर देखिन्छन्। त्यसपछि ती भाँडालाई सुकाउने र विभिन्न रङ्गले रङ्ग्याउने काम पनि उनीहरुले नै गर्छन्।

विद्यार्थीले बनाएका त्यस्ता भाँडा र उपयोगी सामाग्री विद्यालय, विद्यालयहाता तथा अन्य क्षेत्रमा प्रयोग गरेकाले उनीहरु आफ्नो सिर्जना देखेर आफैँ दंग हुन्छन्। विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिक्ने क्रममा आरामको निम्ति नजिकै बेडसहितका कोठाको व्यवस्था गरिएको छ। थकित भएपछि साना विद्यार्थी ती कोठाका खाटमा गएर आराम गरेको समेत देखियो।

विद्यालयका अधिकांश विद्यार्थी आवासीय हुन्। उनीहरुको खाना, आवास, स्टेशनरी, औषधोपचारको व्यवस्था र खर्च विद्यालयले व्यहोर्छ। आफ्नै खेल मैदान र डिजिटल बोर्डसहित स्टेडियम समेत विद्यालय हातामा छ।

यसैले उक्त विद्यालय सो क्षेत्रको नमूना विद्यालय भएको अधिकारीहरु बताउँछन्।

चार कक्षासम्म अध्यापन हुने विद्यालयमा ३० जना प्रशिक्षक र कर्मचारी छन्।

दैनिक छ पिरियड सञ्चालन हुने विद्यालयमा १४६ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको निम्ति आवश्यक खर्च चीनका विभिन्न प्रान्तीय सरकारबाट प्राप्त हुने सहयोगबाट जुट्ने गरेको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...