डडेल्धुराः सुदूरपश्चिम सरकारले सञ्चालनमा ल्याएको हेलो सीएममा नागरिकलाई गुनासो गर्न सिकाउन थालिएको छ। एबार्ड नेपाल नामक संस्थाले विद्युतीय प्रणालीमार्फत् हेलो सीएममा गुनासो गर्न नागरिकलाई सिकाइरहेको हो।
शुक्रबार डडेल्धुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी सो संस्थाले यहाँ नागरिकलाई मोबाइलबाटै गुनासो दर्ता गर्न सकिएको हो। कार्यक्रममा गुनासो व्यवस्थापन सम्बन्धि कानूनी व्यवस्था, गुनासो कसरी लेख्नेलगायतका विषयमा सहभागीलाई सिकाइएको एबार्ड नेपालका अध्यक्ष जयबहादुर विश्वकर्माले जानकारी दिए।
उक्त संस्थाले सुदूरपश्चिमका ९ वटै जिल्लामा गुनासो व्यवस्थापन प्रणाली कार्यक्रमका बारेमा नागरिकलाई जानकारी गराउँदै आएको उनले बताए। उनले आफूले सिकेका कुरालाई अन्य व्यक्तिलाई पनि सिकाउन आग्रह गरे। हलो सीएममा गुनासो कम आउन थालेपछि नागरिकलाई गुनासो गर्न सिकाइएको हो। नागरिकले सामाजिक सञ्जाल, इमेल, एसएमएसमार्फत् पनि आफ्ना गुनासा टिपाउन सक्छन् ।
त्रिलोचन भट्ट मुख्यमन्त्री हुँदा सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न हेलो सीएम सञ्चालनमा ल्याएको थियो। भ्रष्टाचार, ढिलासुस्ती, लापरबाही, खानेपानी, शिक्षा स्वास्थ्यलगायत विविध विषयमा नागरिकले सीधै मुख्यमन्त्री कार्यालयलाई गुनासो गर्न सक्छन्। हलो सीएममा सडक निर्माणमा लापरबाही, विद्युत चुहावटसँगै भ्रष्टाचार र आर्थिक अनियमितताका विषयमा गुनासो आउने गरेका छन्। वेबसाइडको लिङ्क हेलो सीएम डट् सुदूरपश्चिम डट् जीओभी डट् एनपीमार्फत् गुनासो दर्ता गर्न सकिने जनाइएको छ।
प्रदेशस्थित सार्वजनिक निकायबाट वितरण गरिने सेवा–सुविधामा भेदभाव, सार्वजनिक निकायबाट प्रदान गरिने सेवा–सुविधा प्राप्तिमा भएको अवरोध, सार्वजनिक निकायको गैरकानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानीनोक्सानी पुगेको अवस्थामा हेलो सीएममा गुनासो राख्न सकिने व्यवस्था छ।