डडेल्धुराः हरितालिका तीज सुरु भएको छ । तिजको पहिलो दिन आज महिलाहरुले दर खाने खादै छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व मनाईने गरिन्छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिनलाई दर खाने दिनको रुपमा लिइन्छ ।
व्रतका दिन आडिलो बनाउँने भएकाले दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाने प्रचलन रहेको छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन्।
दर रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।