डडेल्धुराः आज हरितालिका तीज पर्व मनाईदै छ । यस पर्वमा हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि व्रत बस्ने गर्दछन्।
पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ। अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका तीज को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।
“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्।
यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेद्कारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।