Radio Unity 92.2MHz

डडेल्धुरामा पनि मनाइयो संविधान दिवस

डडेल्धुरा: डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। दिवसको अवसरमा बुधबार बिहान संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकामको बागबजारदेखि तुफानडाँडा चोकसम्म प्रभातफेरी निकालिएको थियो।

उक्त प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय डा. ताराप्रसाद जोशी र सरस्वती खड्काका साथै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।

तुफानडाँडामा भएका कोणसभा कार्यक्रममा संविधान दिवसकै अवसरमा मंगलबार आयोजित भलिबल प्रतियोगिताका विजेता खेलाडीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। प्रतियोगितामा सरकारी कर्मचारी टिमको विजेता र नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको टिम उपविजेता बनेको थियो।

दुवै टिमलाई प्रथम र द्वितीयको प्रमाणपत्र प्रदान गरिएको थियो। अमरगढी नगरपालिकाको कर्मचारीको टोली र राजनितिक दलको टिमका खेलाडीलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले जानकारी दिए। उनका अनुसार दिवसको अवसरमा साँझ तुफानडाँडा चोकमै दीप प्रज्जवल गरिनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...