Radio Unity 92.2MHz

परशुरामको बजेटमाथि व्यापक हेरफेर भएको भन्दै विशेष नगरसभा बोलाउन माग

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भएको भन्दै नगर प्रमुखसँग विशेष नगरसभा बोलाउनको माग गरिएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित कार्यपालिका र नगरसभा सदस्य गरी ३८ जनाले बिहीबार नगरप्रमुख भरत बडायर जोशीलाई माग पत्र बुझाउँदै अविलम्ब विशेष नगरसभा बोलाउन माग गरेका हुन्।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका सदस्यहरूका बिचमा व्यापक छलफल भई बजेट पारित गरिएको र बजेट पारित पछि हाल प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएकाले नगरसभा र कार्यापालिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण नगरप्रमुख जोशीलाई बुझाइएको मागपत्रमा उल्लेख छ।

‘स्थानीय सरकारको सर्वोच्च निकाय र विधायिकी अधिकारसमेत भएको नगरसभाको निर्णयविपरीत भएको बजेटमाथिको हेरफेर तुरुन्त सच्याउन ध्यानाकर्षण गर्दछौं।’ मागपत्रमा भनिएको छ, ‘साथै स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ सभाको बैठक र कार्य प्रणाली १९ को ३ बमोजिम अविलम्ब विशेष नगरसभाको आयोजना गर्न अनुरोध गर्दछौं।’

विशेष नगरसभा नबोलाए बजेट संशोधनका लागि अन्य बाटोबाट जाने कार्यपालिका र नगरसभा सदस्यहरूले चेतावनी दिएका छन्। कार्यपालिकामा नेकपा (माओवादी केन्द्र) को बहुमत छ। नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुखसहित ५ वडाध्यक्ष जित्दा माओवादीले उपाध्यक्षसहित ७ वडाध्यक्ष जितेको छ।

माग पत्र

सम्बन्धित पाेष्टहरु
Loading...